
प्रिय छोरी,
देश फेरि इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ जहाँ सडक र संसदबीचको दूरी केवल इँटा र ढुंगाको होइन, विश्वास र दृष्टिकोणको बनेको छ।विद्रोहका पछाडी को कस्का कस्ता स्वार्थ थिए ? कस्ले मौकाको फाईदा लिन खोजे र लिए त्यस्को लेखाजोखा इतिहासले गर्ने नै छ । तर जेन्जी विद्रोहले ,युवाको आवाजलाई राज्यको विथीति र विसंगती विरुद्ध प्रहार गरेको हो।तर, तिमीले बुझ्नै पर्छ, विद्रोह केवल गर्जन होइन, निर्माणको आह्वान हो।
फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको छ।
सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई एक महिना भइसक्यो, तर मन्त्रीमण्डल अझै अपूरो छ।यो केवल औपचारिक असक्षमता न भएर संक्रमणकालीन “राजनीतिक अस्वस्थता” हो,जहाँ हिजोका आन्दोलनकारी आज जिम्मेवारीको अग्नि परीक्षामा छन्। अनि जहाँ जनता प्रश्न गर्दैछन् — अब के हुन्छ ?
तिमी उच्च शिक्षा अध्ययन गर्दैछ्यौ — बौद्धिक जगतमा प्रवेश गर्दैछ्यौ —शैक्षिक योग्यताले तिमी तिम्रो मम्मी र म भन्दा अगाडी छ्यौ । त्यसैले म यो पत्र केवल भावनामा होइन, विचारमा लेख्दैछु।
यो देश अहिले केवल नेताहरूको होइन, तिम्रो पुस्ताको “राजनीतिक प्रयोगशाला” बनेको छ।
विश्वका युवा आन्दोलनहरूले सिकाएका सत्य इतिहास साक्षी छ – युवाहरूले जब बोल्छन्, शासनको दिशा बदलिन्छ।तर जब उनीहरू सोच्न छोड्छन्, आन्दोलन हराउँछ।विगतमा नेपालका राजनैतिक परिवर्तन को लडाईमा पनि यस्तै हुँदै आएको छ ।
– १९६८ मा फ्रान्स को पेरिसमा विद्यार्थीहरूले ” पुँजीवादी सत्ताको पाखण्ड” का विरुद्ध सडक तताए। उनीहरूले “Be realistic — demand the impossible!” भन्ने नारा दिए। यो आन्दोलनले आधुनिक यूरोपमा लोकतान्त्रिक अधिकार र लैङ्गिक स्वतन्त्रताको नयाँ परिभाषा दियो।
– अमेरिकाको Civil Rights Movement — डा. मार्टिन लूथर किङ्गले भनेका थिए,“The time is always right to do what is right.”त्यही सोचले काला र गोरा बीचको विभाजन हटायो, र राज्यले स्वतन्त्रताको अर्थ फेरि लेख्न बाध्य भयो।- – अरब स्प्रिङ (२०११) ट्युनिसिया र इजिप्टका युवाहरूले भ्रष्ट शासन ढालेर लोकतन्त्र ल्याए।तर असंगठित आन्दोलनले सीरिया र लिबियामा विनाश निम्त्यायो। यो उदाहरण हो — विद्रोह सुरु गर्न सजिलो छ, तर टिकाउन कठिन।
– हङकङको अम्ब्रेला मुभमेन्टमा लाखौं युवाहरू सडकमा निस्किए,“Freedom is not a gift, it is a responsibility” भन्ने बोधले।तर कठोर सत्ता र असंगठित नेतृत्वबीच त्यो आन्दोलन कमजोर भयो।
यी उदाहरणहरूले के देखाउँछन् भने विद्रोह तब मात्र सफल हुन्छ जब भावनामा तर्क मिसिन्छ,आक्रोशसँगै दूरदृष्टि जोडिन्छ।जुन दिन मैले संगठनको सदस्यता प्राप्त गरेको थिए तेसवेला म केवल १४ वर्षको थिए , जुन दिन ३ महिनाकी तिमीलाई छोडेर पूर्ण भूमिगत भएर विद्रोहमा कुदेको थिए तेसवेला म आज तिम्रो उमेर भन्दा सानो थिएं । मेरो भनाईको अर्थ युवा उमेरमा आउने उतार चढावहरु शुरुमा भावनात्मक हुन्छन् तिनले विचारको आकार लिएका हुँदैनन् ।देश अहिले त्यही मोडमा छ जहाँ जेन्जी विद्रोहले “पुरानो राजनीति” हल्लाएको छ,तर “नयाँ राजनीतिक संस्कृति” अझै जन्मिएको छैन।अन्तरिम सरकार छ, तर मन्त्रीमण्डल अपूरो छ।पुराना दलहरू आत्ममुग्ध छन्, पुर्व प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिले पुरानो राजनीतिक संस्कृतिको छायाँ अझै बाक्लो रहेको संकेत गर्छ। नयाँ शक्तिहरू अनुभवहीन।र राष्ट्रपति संवादमा छन्, तर दिशा अस्पष्ट छ।तिमीलाई यो देख्दा निराशा लाग्न सक्छ, तर इतिहास कहिल्यै सीधो रेखामा अघि बढ्दैन त्यो हरेक पुस्ताको चेतनाले बनेको घुमाउरो बाटो हो।
तिमीले सुनेकी छ्यौ ? “You are not too young to lead, and you are not too old to learn.”– कोफी अन्नान
त्यसैले, तिमीहरूको पुस्ताले अब केवल विरोध होइन, परिवर्तनको नक्सा बनाउनु पर्छ।
तिम्रो सोच, तिम्रो तर्क र तिम्रो नैतिकता नै नयाँ नेपालको जग हो।
छोरी,
देशको माटो अहिले थाकेको छ तर आशाले ओतप्रोत छ।हिजोको विद्रोहले ढोका खोलेको छ। अब तिमीहरूले त्यो ढोकाबाट संविधानिक चेतना र नैतिक नेतृत्व बोकेर पस्नुपर्छ।
सडकमा ज्वाला बाल्न सजिलो छ तर संस्थामा उज्यालो बाल्न कठिन। यही कठिन बाटो तिम्रो पुस्ताको हो।
तिम्रो विषयगत शिक्षा संगै तिमी इतिहास पढ तर केवल तथ्यको लागि होइन सत्य खोज्ने अभ्यासका लागि।किनकि “Education is the most powerful weapon which you can use to change the world.”– नेल्सन म्यान्डेला
तिमीले बुझ्नुपर्ने अन्तिम कुरा, छोरी —
विद्रोहले देश हल्लाउँछ,तर बुद्धिले मात्र देश उठाउँछ।
त्यसैले,
भविष्यलाई भावनाले होइन, विवेकले लेख।देशले तिम्रो पुस्ताबाट यही अपेक्षा गरेको छ — एक शान्त तर दृढ क्रान्ति — चेतनाको क्रान्ति।
अन्त्यमा माओत्सेतुङ का यी भनाइहरु –
1 – “Young people are like the rising sun; they represent new hope and endless vitality.”“युवा बिहानको घामजस्तै हुन् — जसले नयाँ आशा र अनन्त ऊर्जाको प्रतीक बनेर उदाउँछन्।”
2 – “The youth should learn from practice. Without investigation, there is no right to speak.”“अनुभव र अभ्यासबाट सिक्नुपर्छ। अध्ययन र अन्वेषण बिना बोल्ने अधिकार हुँदैन।”
सधैं तिम्रो साथमा,
तिम्रो बाबा
( २ ०८२ असोज २५)
-पूर्ण बहादुर घर्तिमगर नेकपा(माओवादी केन्द्र)को तर्फबाट रुकुम बाट निर्वाचित पूर्व सांसद हुन्




