
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले दिएको बहुमतको सदुपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रास्वपा तत्कालीन माओवादीजस्तो नहोस् भन्ने आफूले चाहेको बताए।
आफ्नो उतारचढावपूर्ण राजनीतिक अनुभव सुनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूजस्तै ०६४ सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईंहरू पनि त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता छ। त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई।’
बहुमतको अहंकार नगर्न सुझाव दिँदै उनले अगाडि भने, ‘यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्छ। यसलाई अहंकारको मलखाद बन्न दिनुहुँदैन।’
तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे। उनले भने, ‘इतिहास र अनुभवले के साबित गरेको छ भने संख्या भन्ने कहिले स्थायी हुँदैन। जनताको समर्थन पनि नि सर्त हुँदैन, ससर्त हुन्छ।’




