इरानमा नयाँ सर्वोच्च नेता र राष्ट्रपति मसुद पेजेश्कियनले युद्धबारे फरक–फरक अभिव्यक्ती दिएका छन् । सर्वोच्च नेता मोज्ताबा खामेनेइले आफ्नो नियुक्तीपछि पहिलोपटक बिहीबार पठाएको सन्देशमा अमेरिका–इजरायलविरुद्ध बदला लिएर छाड्ने उल्लेख छ । यसअघि राष्ट्रपति मसुद पेजेश्कियनले बिहीबार बिहान इरानका तीन शर्त पूरा भए अमेरिकासँग वार्ता हुनसक्ने बताएका थिए । 

अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन् । ‘ अमेरिकाले सुरक्षा र शान्ति स्थापना गर्ने दाबी झुठ सिवाय केही होइन भनेर पश्चिम एशियाका देशहरुले अब मनन गरेको हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

खामेनेइको सन्देशमा हर्मुजको घाँटीमा अवरोध निरन्तर रहने उल्लेख छ । अमेरिका–इजरायलविरुद्ध इरानी सेनाले गरेको प्रतिरोधको उनले तारिफ गरेका छन् । सर्वोच्च नेता बनेयता उनी सार्वजनिक रुपमा देखिएका छैनन् । इरानको सरकारी टेलिभिजनमा उनको वक्तव्य पढेर सुनाइएको थियो । 

इरानका राष्ट्रपति मसुद पेजेश्कियनले  इरानको  सार्वभौमसत्ताको अधिकारको अन्तर्राष्ट्रिय मान्यता, इजरायल–अमेरिका आक्रमणमा ध्वस्त भएका पूर्वाधार तथा मारिएका सर्वसाधारणको क्षतिपुर्ति र फेरि आक्रमण नहुने ग्यारेन्टी प्राप्त भएमा युद्ध अन्त्य हुने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् । उनले यसअघि रुस र पाकिस्तानका नेतासँग भएको कुराकानी भएको पनि बताएका छन् ।२८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण गरेसँगै इरान युद्ध सुरु भएको थियो । युद्धको पहिलो दिनमै सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइसहितका वरिष्ठ नेताहरु मारिएका थिए । त्यसपछि इरानले खोमनेइका छोरा मोज्ताबा खामेनेइलाई नयाँ सर्वोच्च नेता चयन गरेको हो ।