
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले सूचना जारी गरी विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
साथै सूचनामा पुस २६-२८ मम गर्ने भनिएको नियमित महाधिवेशन पनि स्थगन भएको जनाइएको छ ।संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वयले सूचना जारी गरेका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको पनि महामन्त्रीद्वयले जानकारी दिएका छन् । खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान छ । यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको पनि उनीहरूले जनाएका छन् ।
विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् ।पार्टी विधानमा चालीस प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, संस्थापन पक्षले विधानको बाध्यात्मक व्यवस्थालाई समेत बेवास्ता गरेर अघि बढ्न खोजेपछि महामन्त्रीहरूले विशेष महाविधेशन बोलाउनुपर्ने बाध्यता बनेको अर्का नेता बलदेव तिमिल्सिनाले बताए ।
विशेष महाधिवेशनलाई निस्तेज बनाउन संस्थापन पक्षको सहमतिमा पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका समेत ल्याइएको थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो ।त्यसपछि महामन्त्री थापा र शर्माले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न वडा र क्षेत्रको अधिवेशन मात्रै गर्ने प्रस्ताव अघि सारेका थिए । वडा र क्षेत्रको अधिवेशन गरेपछि केन्द्रीय महाविधेशन गर्ने ढोका खुल्छ । तर, संस्थापनपक्ष त्यसमा तयार नभएपछि असोज २८ गते दर्ता भएको विशेष महाधिवेशनको निवदेन क्रियाशील भएको सुवास पोखरेलले बताए ।
यस्तो छ विज्ञप्ति
नियमित महाधिवेशन स्थगन / विकल्प विशेष महाधिवेशन
१. नियमित महाधिवेशनको कार्यतालिका तथा क्रियाशील सदस्यता सम्बन्धी अवस्था
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ।
महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको छ। बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान छ।
यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य निरन्तर भइरहेको छ। नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिन्छ।
पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ। उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौं।
२. विशेष महाधिवेशन सम्बन्धी वैधानिक दायित्व
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ।
अत: पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो। उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ ।



