
प्रिय छोरी,
तिमी आज लोकतन्त्र पढिरहेकी छौ , कहिले पुस्तकको पानामा कहिले सडकका नारा र सामाजिक सञ्जालका बहसमा। तर लोकतन्त्र बुझ्नु भनेको परिभाषा कण्ठ गर्नु होइन,यो देशले बगाएको पसिनाको स्मृति बोक्नु हो। किताबका पानामा लेखिएका ती सिद्धान्तहरू बुझ्दै गर्दा शायद कहिलेकाहीँ तिमीलाई यो देश किन यति अस्तव्यस्त छ भन्ने प्रश्नले पोल्छ होला? आज म तिमीलाई उत्तर दिन होइन,इतिहाससँग चिनजान गराउन चाहन्छु। किनकि इतिहास नबुझेको चेतना सजिलै नायकको पछि लाग्छ।
१. जब डरले बोल्न सिक्यो:
छोरी,
२०४६–४७ सालको जनआन्दोलन, केवल राजाको सत्ता सिमित गर्ने घटना थिएन,त्यो त चुप्पीको संस्कृतिमाथि जनताको पहिलो चोट थियो। चैत्र २४ को त्यस दिन सडकमा उत्रिएका मानिसहरू, पहिलोपटक भनेका थिए- “हामी प्रजा होइनौँ, नागरिक हौँ।”तर त्यो आन्दोलनले सत्ताको अनुहार त बदल्यो,सत्ताको वर्ग चरित्र बदल्न सकेन। आन्दोलन राजाको शासन अन्त्य गर्ने मात्र थिएन,त्यो डरको शासनविरुद्ध चेतनशिल जनताको विद्रोह थियो। त्यो आन्दोलनले ढोका खोले पनि घरभित्रको संरचना फेरिएन। त्यही अधुरोपनले अर्को ठूलो विस्फोट जन्मायो।
२. ५२–६२ बन्दुकभित्र लुकेको प्रश्न:
दश वर्षे जनयुद्ध, इतिहासको सबैभन्दा पीडादायी अध्याय हो,तर सबैभन्दा गम्भीर प्रश्न पनि त्यहीँ उठ्यो। जुन वेला देश बन्दुक र विचारको द्वन्द्वमा थियो।तेसको शुरूको वर्षमा तिमी भर्खर बामे सर्दै थियौ ।
“यो राज्य कसको हो ?”
गाउँगाउँमा उठेको विद्रोह हिंसाको मोह होइन, उपेक्षाको विस्फोट थियो। त्यो युद्धले हिमाल , पहाड र तराई मधेस का गाउँ ; जहाँ राज्य पुगेको थिएन,त्यहाँ जनताले राज्य खोजिरहेका थिए।त्यहि युद्धले तिमीलाई आज स्वतन्त्रतापूर्वक बोल्ने अधिकार दिलायो,महिला, दलित , जनजाती , मधेसी , मुश्लीम लाई नीति निर्माण गर्ने ठाउँमा पुर्यायो , प्रश्न सोध्ने साहस दियो।र राज्यलाई पहिलोपटक आफ्नो वर्गीय चरित्र ऐनामा हेर्न बाध्य पार्यो। तर क्रान्ति संरचना तोड्न नपाउँदै सम्झौतामा थाकेर बस्यो। हजारौं शहिदहरुको वलिदानीपूर्ण क्रान्तिले राज्य बदलियो तर राज्य चलाउने संरचना पुरानै रह्यो।
३. १९ दिने आन्दोलन र संघीय गणतन्त्र , सम्भावनाको अधूरो सपना:
२०६२/६३ पछि. हामीले संघीय गणतन्त्र पायौँ। इतिहासले ठूलो मोड लियो। त्यस ढोकाबाट फेरी पुरानै अनुहारहरू छिरे।संविधान आयो,तर संस्थाहरू जनताका भएनन् ,राजनैतिक संघीयता आयो,तर प्रशासनिक संघीयता आयन । आत्मनिर्भर अर्थतन्त्र आएन।साराकहरूको केन्द्रीकृत मातासिकता बदलीयन । भ्रष्टाचार मालाउँदै गयो , जनताले सुशासनको अनुभुति गर्न पायन , दिनहु हजारौं युवाहरु विदेसिन थाले , दलाल र विचौलिया हरुको इशारामा सत्ता परिवर्तनका खेल हुन थाले ।संघ र प्रदेश सरकार अस्थीर बन्न थाले। यही अधुरोपन आज तिमीहरूको पुस्तामा असन्तोष बनेर बसेको छ। यहीँबाट आजको समस्या जन्मिएको हो।
४. थकित समाज, तिमीहरूको पुस्ता र नायकको मोह:
जब संस्था कमजोर हुन्छन्,समाज नायक खोज्छ।यो दोष होइन,यो थकानको लक्षण हो।
तर सम्झनु, छोरी,
नायकले व्यवस्था सफा गर्दैन,नायकले केवल व्यवस्थाको असफलतामाथि पर्दा तान्छ।
इतिहास साक्षी छ- व्यक्ति चम्किन्छन् संरचना उस्तै रहन्छ। लोकतन्त्र भनेको उद्धारकको प्रतीक्षा होइन, एक जनाले सबै ठीक पारिदिने सपना पनि होइन, यो त धेरैले मिलेर धान्नुपर्ने बोझ हो। यो धैर्य, संगठन र दीर्घ संघर्षको नाम हो।
५. राष्ट्रिय स्वाधीनता , भाषण र यथार्थ :
छोरी,
तिमीले अन्तर्राष्ट्रिय सम्बन्ध पढ्दा स्वाधीनता शब्द सुन्छ्यौ होला। तर हाम्रो देशमा – स्वाधीनता कागजमा छ, अर्थतन्त्रमा छैन। हाम्रा युवाहरू विदेशिन्छन्, हाम्रा नीति अरूले लेखिदिन्छन्, हाम्रा स्रोत अरूको नजरमा छन्। हाम्रो भविष्य अरूको निर्णय कुर्छ। जबसम्म उत्पादन, श्रम र ज्ञान यो माटोसँग जोडिँदैन, लोकतन्त्र र स्वाधीनता केवल खोक्रो नारा हुन्छ।
६. अन्तिम कुरा – तिमीले के गर्ने ?
म तिमीलाई नायक बन्न भनिरहेको छैन। म तिमीलाई चेतनशील नागरिक बन्न आग्रह गरिरहेको छु। प्रश्न सोध,संस्था बनाऊ,संगठनमा बस,लामो संघर्षबाट नडराऊ। इतिहास पढ्दा नाम होइन, संरचना हेर। भावनामा होइन, वर्गीय पक्षधरता र यथार्थमा उभिएर सोच।
अन्तमा
छोरी,
लोकतन्त्र तिमी जस्तै युवाको धैर्यले बाँच्ने हो, नायकको भाषणले होइन। मलाई तिमीमाथि विश्वास छ। किनकि तिमी नव यूवा हौ । तर स्मृतिविहीन पुस्ता होइनौ। यदि तिमीले इतिहासलाई बोक्यौ भने,भविष्य तिमीले नै लेख्नेछौ।
माया र जिम्मेवारीसहित,
तिम्रो बाबा
२०८२ पुष १ ८ गते



