
काठमाडौँ। देशमा राजनीतिक हिंसा बढेर मुख्य पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएका बेला नेकपा माओवादी केन्द्रले पुस्तान्तरणसहितको रूपान्तरण गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रका निवर्तमान उपमहासचिव वर्षमान पुन ले पार्टीको आगामी विशेष महाधिवेशनबाट नेतृत्वमा ‘क्रमभंग’ हुने र युवाहरूको चाहना सम्बोधन गरिने दाबी गरेका छन्। नेता पुनले पार्टीको मंसिर अन्तिम साता हुने विशेष महाधिवेशन जेन-जी आन्दोलनको भावनालाई पक्रिने प्रयास भएको बताएका छन्।
नेता पुनका अनुसार पार्टीले युवा आन्दोलनको माग सम्बोधन गर्नकै लागि महाधिवेशनको निर्णय गरेको हो। पुनले भने, “अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राजनीतिमा, नेतृत्वमा र पार्टीमा पनि क्रमभंग हुन्छ भनेर केन्द्रीय समितिमा राख्नुभएको हो।” उनले माओवादीले दिने जवाफले अन्य पार्टीलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे।
पुनले अध्यक्ष प्रचण्ड राजतन्त्र अन्त्य गर्ने युग नेता भए पनि उहाँले “सधैँ यही रूपमा चल्दैन” भन्ने महसुस गरेको बताए। नयाँ पुस्ताको माग सम्बोधन गर्न, प्रशिक्षित गर्न र पार्टीलाई नयाँ बनाउन विभिन्न मोडेलमा छलफल र गृहकार्य भइरहेको उनको भनाइ छ। नेतृत्वमा क्रमभंग भए पनि प्रचण्डको सम्मान र ऐतिहासिक भूमिका स्थापित हुने गरी नयाँ संरचनाको मोडालिटी तयार गरिने उनले बताए। यसले देश, समाज र पार्टीलाई मार्गदर्शन गर्ने र सँगसँगै नयाँ पुस्ताका नेताहरूलाई तयार पार्ने उनको भनाइ छ।
भदौ २३ को प्रदर्शनपछि मुख्य राजनीतिक केन्द्र र नेताका घरहरूमा भएको आगजनी र तोडफोडलाई पुनले सामान्य घटना मानेका छैनन्। पुनले जेन-जी आन्दोलनमा ‘कहीँ न कहीँ घुसपैठ भएको’ आशंका व्यक्त गरे। “कोही न कोही माओवादी मन नपाराउने तत्वले यो द्विविधा सिर्जना गरेर दलीय व्यवस्था नै खत्तम बनाउन खोज्ने शक्तिहरू पनि छन्,” उनले भने।
उनले घुसपैठ गर्ने तत्वको पहिचान गर्न र कारबाही गर्न न्यायिक छानबिन आयोग लाई आग्रह गरे।
देशमा राष्ट्रिय स्वाधीनतामाथि चुनौती आएको भन्दै नेता पुनले तोकिएको मिति फागुन २१ मा नै चुनाव गर्नुपर्नेमा जोड दिएका छन्। “चुनाव गर्नकै लागि यो सरकार बनेकाले तोकिएकै समयमा हुनुपर्छ, त्यसमा माओवादी लागिसक्यो,” उनले भने। माओवादी केन्द्र आगामी चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर जनतामा जाने उनले बताए।
अन्त्यमा, उनले जेन-जीलाई व्यवस्था र संविधानको रक्षा गर्दै संयम र धैर्यका साथ अघि बढ्न आह्वान गरेका छन्।




