काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई आम जनता र नयाँ पुस्ताप्रति जिम्मेवार बनाउन “जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण” गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हालको राजनीतिक संकट र देशभर भइरहेका प्रदर्शनहरूको सन्दर्भमा एक अपिल जारी गर्दै उनीहरूले सत्तामा पुगेका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको र भ्रष्टाचार मौलाएको स्वीकार गरेका छन्।

अपिलमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। महामन्त्रीद्वयले युवाहरूको शान्तिपूर्ण प्रदर्शन जायज रहेको बताउँदै नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन्। उनीहरूले अबको नेपाली कांग्रेस युवाहरूको भावना र अन्य पुस्ताको अपेक्षालाई समेटेर अझ सशक्त र जनउत्तरदायी दल बन्ने विश्वास व्यक्त गरेका छन्।

महामन्त्रीद्वयले देशलाई २०७२ सालको संविधानभन्दा पछाडि फर्कन नदिन सबै प्रयास केन्द्रित गर्ने बताएका छन्। परिवर्तनले सधैँ अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा आफूहरू दृढ रहेको उनीहरूको भनाइ छ। अपिलमा राष्ट्रपतिले वार्ता र संवादमार्फत निकास खोज्न गरेको पहलको स्वागत गरिएको छ। साथै, सिंहदरबार, संसद् भवन लगायतका ठाउँमा भएको आगजनी र तोडफोड जेनजी आन्दोलनकारीको माग नभई “नियतवश पसेकाहरूले योजनाबद्ध रूपमा” गरेको दाबी गरिएको छ। उनीहरूले सबै पक्षलाई संयम र एकताका साथ प्रस्तुत हुन आग्रह गर्दै यस्ता हिंसात्मक घटनाको निन्दा गरेका छन्।

वर्तमान विषम परिस्थितिबाट बाहिर निस्कन र देशको पुनर्निर्माणमा जुट्नका लागि “संयम, संवाद र एकता” अपरिहार्य रहेको अपिलमा उल्लेख छ। महामन्त्रीद्वयले अहिलेको कठिन अवस्थामा पनि सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नेपालीमा हार्दिक आह्वान गरेका छन्। उनीहरूले गम्भीर आत्मसमीक्षा र आत्मशोधन गर्दै नयाँ ढंगले अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।