काठमाडौं: नेकपा (एमाले) की पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणको विषयमा उठेको विवादलाई लिएर पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन्। उनले पार्टीको विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै आफ्नो सदस्यतामाथि प्रश्न उठाउनु पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्यासको प्रतिकूल भएको बताएकी छिन्।

पत्रमा भण्डारीले आफूले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर फर्किएपछि पार्टी नेतृत्वको सल्लाहअनुसार नै आफ्नो सदस्यता नवीकरण गरेको उल्लेख गरेकी छिन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नै मदन भण्डारीको ७४औं जन्मजयन्ती कार्यक्रममा आफ्नो सदस्यता नवीकरण भएको कुरा सार्वजनिक गर्ने सहमति भएको पनि स्मरण गराएकी छिन्।

“मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अङ्गिकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ,” भण्डारीले पत्रमा लेखेकी छिन्।

उनले आफ्नो सदस्यतामाथि प्रश्न उठाउने कार्य व्यक्तिगत नभई पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको विषय भएको दाबी गरेकी छिन्। उनले कतिपय जिम्मेवार नेताहरूले सार्वजनिक सञ्चार माध्यममा आफ्नो सदस्यता नवीकरण नभएको भनी निरन्तर गलत विचार प्रवाह गर्दा पार्टी परिवारमा अन्योल र जनतामा भ्रम सिर्जना भएकोमा दुःख व्यक्त गरेकी छिन्।

“यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो,” उनले थपेकी छिन्।

भण्डारीले आफूले स्कूले जीवनदेखि नै पार्टीमा रहेर लोकतन्त्र, न्याय र समानताका लागि निरन्तर संघर्ष गरेको बताउँदै बाँकी जीवन पनि पार्टीमै आबद्ध रहेर काम गर्ने अठोट व्यक्त गरेकी छिन्।