काठमाडौं । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारतले गर्दै आएको गतिविधिप्रति नेपालले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले भारत र चीनबीच लिपुलेक नाकालाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएकोमा त्यसलाई ‘बाइपास’ गरेको भन्दै विरोध जनाएको हो। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लिपुलेक नेपालको अभिन्न भूभाग रहेको र त्यस क्षेत्रमा कुनै पनि गतिविधि नगर्न नेपालले भारतलाई पटकपटक आग्रह गरेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।’

भारतीय प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्तापछि भारतको विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिमा लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्ने सहमति भएको थियो। यो सहमति प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीको सिलसिलामा भएको हो। नेपालले यसअघि पनि लिपुलेक नाकालाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा भारत र चीनको विरोध गरेको थियो।

यस विषयमा चीनलाई पनि जानकारी गराइसकिएको र नेपाल–भारतबीचको सीमा समस्या ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।