पाल्पा

रिब्दिकोट गाउँपालिका पछिल्लो तीन वर्षमा उत्कृष्ट विकासको नमुना प्रस्तुत गर्न सफल भएको छ। गाउँपालिकाले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै स्थानीय विकासको गतिलाई तीव्र बनाएको छ।

गाउँपालिकाले १३ देखि १४ किलोमिटर सडक पक्की ढलान निर्माण गरी स्थानीय यातायातमा सहजता ल्याएको छ। कृषि पेशामा संलग्न व्यक्तिहरूले पालिकाबाट कुनै पनि सेवा नपाएको भन्ने अवस्था अब देखिँदैन। सबै कृषकहरू विभिन्न प्रकारका सेवा र सहुलियतबाट लाभान्वित भएका छन्।

अध्यक्ष नारायण कार्किको नेतृत्वमा जलेश्वर क्षेत्रमा पाँच करोड रुपैयाँको लगानी र भैरवस्थानमा समेत उल्लेख्य लगानी गरी गाउँको समुचित विकासमा प्राथमिकता दिइएको छ। कालिकागढी गुरासे डाँडा र सेल्फी डाँडालाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ। रिङ्सिङ डाँडामा पनि व्यापक लगानी गरिएको छ।

कृषि क्षेत्रको उल्लेखनीय सफलता
अकबरे खुर्सानी, सुन्तला, बेसार, अदुवा, र काक्रा लगायतका बालीहरूमा व्यापक प्रोत्साहन दिइएको छ। कृषकहरूलाई दुग्ध उत्पादनमा समेत अनुदान प्रदान गरिएको छ। पालिकाको पहलमा अहिले ६ हजार रोपनी जमिनमा अकबरे खुर्सानी, बेसार, अदुवा, सुन्तला र अन्य तरकारी खेती विस्तार गरिएको छ। रासायनिक मलमा निर्भर रहेका कृषकहरू अहिले प्राङ्गरिक मल कारखानाको स्थापनासँगै प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। रिब्दिकोट गाउँपालिकाले रासायनिक मलमुक्त पालिका बनाउने अभियान अगाडि बढाएको छ। यसका लागि सहकारीहरूसँग समन्वय गर्दै जैविक मल उद्योगसमेत सञ्चालन गरिएको छ, जुन अन्य पालिकाहरूमा दुर्लभ देखिन्छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति
गाउँपालिकाका विद्यालयहरूको नतिजा उल्लेखनीय रुपमा सुधार भएको छ। विगतमा मात्र ८ प्रतिशत पास हुने नतिजा अहिले ४० प्रतिशतमा पुगेको छ। स्वास्थ्य क्षेत्रमा पनि निरन्तर सेवा पुर्‍याउँदै, नियमित स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको छ। हालसम्म १,३०० जनाले आँखा परीक्षण गरिसकेका छन्।

समाजमा सकारात्मक परिवर्तन
गएको वर्ष रिब्दिकोटले जड्याहा व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेर देशभर चर्चा बटुलेको थियो। त्यस कार्यक्रमको प्रभाव स्वरूप धेरै जड्याहाहरू सुधारिएर सामाजिक सेवामा सक्रिय भएका छन्।

अध्यक्ष कार्किको सुशासन र पारदर्शिता
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्किले पालिकाबाट कुनै पनि प्रकारको व्यक्तिगत लाभ लिएका छैनन्। उनले आफ्नो तलब, सुविधा र भत्ता समेत विपन्न वर्गका लागि स्वास्थ्य बीमा र आपतकालीन राहतमा खर्च गर्दै आएका छन्। बित्त आयोगको मूल्यांकनमा पनि रिब्दिकोट गाउँपालिका उत्कृष्ट देखिएको छ।

गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइमा अध्यक्ष कार्किले सोधे, “कृषिमा लागेका मध्ये पालिकाबाट सेवा नलिएका कोहि छन् ?” तर कार्यक्रममा कसैले आफू सेवा नपाएको बताएनन्, जुन पालिकाको समावेशी र समानुपातिक सेवा वितरणको प्रमाण हो।

अध्यक्ष कार्किले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिबद्धता तीन वर्षमै पूरा गरिसकेको जनाएका छन्। रिब्दिकोट गाउँपालिकाको यो प्रगति देशभरका पालिकाहरूका लागि प्रेरणादायी बनेको छ।