नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि सुरु हुँदै छ।
मिति नजिकिँदै जाँदा फ्रेन्चाइज टोलीका मार्की खेलाडीको चर्चा पनि बढिरहेको छ। घरेलु क्रिकेटका सर्वाधिक सफल खेलाडीलाई ८ फ्रेन्चाइज टोलीले मार्की खेलाडी घोषणा गरेका छन्।
एनपीएलमा विभिन्न ठाउँको प्रतिनिधित्व गर्दै ८ फ्रेन्चाइज टोलीले उपाधिका लागि दाबेदारी पेस गर्नेछन्। घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय मैदानमा पनि तहल्का मच्चाउन सफल नेपाली खेलाडीसँगै विदेशी खेलाडीलाई अनुबन्ध गरेर टोलीहरु बलियो देखिने होडमा छन्।
विदेशी खेलाडीको चर्चासँगै नेपाली खेलाडीको प्रदर्शन कस्तो रहला भन्ने आशा क्रिकेट समर्थकले गरिरहेका छन्। क्यानले पहिलो पटक आयोजना गर्न लागेको एनपीएलका लागि आयोजक मात्र हैन खेलाडी र समर्थक पनि निकै उत्साहित छन्। एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै छन्। शनिबार हुने उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ।
क्यानले उद्घाटन खेलका लागि भीआईपीतर्फ ६ सय र साधारणतर्फ ९ हजार २ सय टिकट बिक्री गरिसकेको छ। सामाजिक सञ्जालमा पनि एनपीएलले राम्रो प्रचार पाइरहेको छ।
कुन टिममा को मार्की?
सोमपाल कामी (कर्णाली याक्स)
राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी कर्णाली याक्सको मार्की खेलाडी छन्।
सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका सोमपालले ७४ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन्। जहाँ उनले ७० विकेट लिन सफल भएका छन्।
उनको बलिङ इकोनोमी ७.१४ छ। ७४ खेलको सबै इनिङसमा उनले कुल १६ सय ७० रन खर्चेका छन्।
७४ टी–२० मध्ये ४४ खेलमा ब्याटिङ गरेका उनले ३ सय २९ रन बनाएका छन्। एनपीएलमा उनी अनुभवी खेलाडी पनि हुन्।
एनपीएलको अक्सनमा खेलाडी खरिदमा उनको टिम केही कमजोर देखिए पनि भारतीय चर्चित क्रिकेटर शिखर धवनलाई भित्र्याएपछि बलियो बनेको छ।
करण केसी (काठमाडौँ गुर्खाज)
राष्ट्रिय टोलीका अलराउन्डर करण केसी काठमाडौँ गुर्खाजको मार्की खेलाडी छन्।
आगामी एनपीएलमा अनुभवी खेलाडीका रुपमा करणले आफ्नो क्षमता देखाउनेछन्।
सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका करणले ७५ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन्। त्यसमा उनले ९७ विकेट झारेका छन्।
फिनिसरको छवि बनाएका करणले ४ सय ५३ रन बनाएका छन्। उनको बलिङ इकोनोमी ७.७६ छ।
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडी बनाएको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित एनपीएल खेल्दै छ।
सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका दीपेन्द्रले एसीसी मेन्स प्रिमियर कपअन्तर्गत कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए।
राष्ट्रिय टोलीबाट ७४ खेलको ६५ इनिङसमा ब्याटिङ गरेका उनले १७ सय २५ रन बनाएका छन्। उनले सर्वाधिक १ सय १० रनको अविजित पारी खेलेका छन्। उनको स्ट्राइक रेट १ सय ४३.३९ छ।
७४ खेलको ४९ इनिङसमा बलिङ गरेका दीपेन्द्रले ४९ विकेट झारेका छन्।
सन्दीप लामिछाने (विराटनगर किङ्ग्स)
विश्व क्रिकेटका कीर्तिमानी खेलाडी सन्दीप लामिछाने एनपीएलमा विराटनगर किंग्सको मार्की खेलाडी छन्।
राष्ट्रिय टोलीको कप्तान समेत रहिसकेका सन्दीपले सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
सन्दीपले राष्ट्रिय टोलीबाट ५८ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन्। ५० अन्तर्राष्ट्रिय टी–२०मा सन्दीपले १ सय ८ विकेट झारेका छन्। उनको इकोनोमी ६.१५ छ।
पछिल्लो समय ब्याटिङमा पनि आफूलाई अभ्यस्त बनाउन थालेका उनले २१ इनिङसमा ७४ रन बनाएका छन्।
रोहित कुमार पौडेल (लुम्बिनी लायन्स)
राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेल एनपीएलमा लुम्बिनी लायन्समा मार्की खेलाडी छन्।
सन् २०१९ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहितले ५९ खेल खेलिसकेका छन्। उनले ५९ खेलको ५६ इनिङसमा १३ सय १० रन बनाएका छन्। उनको सर्वाधिक रन ६१ छ भने स्ट्राइक रेट १२२.०८ छ।
५९ खेलको ११ इनिङसमा उनले ९ विकेट पनि लिएका छन्। उनको इकोनोमी ६.६१ छ।
कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
एनपीएलको अर्को टोली पोखरा एभेन्जर्सले राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडी बनाएको छ।
कुशलको नेतृत्वमा पोखराले एनपीएलमा प्रदर्शन गर्दै छ। घरेलु मैदान पोखरा क्रिकेट मैदानमा अभ्यास गरेर टोली अहिले काठमाडौँ आइसकेको छ।
सन् २०२१ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका कुशलले ५३ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन्। जहाँ उनले १२ सय ९८ रन बनाएका छन्। राष्ट्रिय टोलीबाट एक शतक प्रहार गरेका कुशलले सर्वाधिक १ सय ४ रनको अविजित पारी खेलेका छन्। उनको स्ट्राइक रेट १ सय २८.६४ छ।
उनले १३ इनिङ्समा १९ विकेट लिएका छन्।
आशिफ शेख (जनकपुर बोल्ट्स)
राष्ट्रिय टोलीका ओपनर तथा विकेट किपर आशिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन्। सन् २०२१ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका आशिफ विकेट किपिङमा विशेष दक्षता राख्छन्।
राष्ट्रिय टोलीबाट ५४ खेल खेलेका आशिफले १२ सय ४५ रन बनाएका छन्। उनको स्ट्राइक रेट १ सय १५.४९ छ। राष्ट्रिय टोलीबाट उनले सर्वाधिक ६४ रन बटुलेका छन्।
जनकपुरले उद्घाटन खेलमा शनिबार विराटनगरसँग खेल्दै लिगको सुरुवात गर्नेछ। सो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
जनकपुरको विदेशी खेलाडीका क्यानडाका हर्ष ठाकर, न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, लाहिरु मिलन्था र इंग्ल्यान्डका अलराउन्डर बेन माइक छन्।
कुशल मल्ल (चितवन राइनोज)
राष्ट्रिय टोलीका कुशल मल्ल एनपीएलमा चितवन राइनोजको मार्की खेलाडीको रुपमा मैदान उत्रिँदै छन्।
सन् २०१९ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका कुशलले ४७ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन्। ४७ खेलको ४३ इनिङसमा उनले ९ सय १७ रन बटुलेका छन्। उनको सर्वाधिक रन १ सय ३७ छ। स्ट्राइक रेट १ सय ४७.६६ रहेका कुशलले बलिङमा पनि आफूलाई प्रमाणित गरिसकेका छन्।
उनले २७ इनिङसमा १९ विकेट झारेका छन्। एनपीएलको सुरुवातअघि नै ठूलो झड्का व्यहोरेको चितवन उत्कृष्ट सुरुवातको योजनामा छ।
चितवनमा जोडिएका दक्षिण अफ्रिकाका मार्चन्ट डे लाग भने एनपीएलअघि नै टोलीबाट बाहिरिए। अभ्यासका क्रममा घाइते भएपछि उनी एनपीएलबाट बाहिरिएका हुन्। चितवनमा अनुबन्ध भएका नामिबिया जान निकोल लिफ्टी इटन र इंग्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिल काठमाडौं आइसकेका छन्।
उनीहरुसँगै र इंग्ल्यान्डका रवि बोपारालाई पनि टोलीमा समेटेर टोलीलाई बलियो बनाउने रणनीतिमा चितवन छ। बिहीबार मात्रै चितवनले पाकिस्तानी अनुभवी क्रिकेटर सोहेल तनविरलाई अनुबन्ध गरेको घोषणा गरेको छ। (सबै तस्बिर सम्बन्धित टोलीको फेसबुक पेजबाट)nepakhabar