कुटनीतिक पहलबाट सीमा विवाद मिलाउँदै छौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुटनीतिक पहलबाट सीमा विवाद मिलाइरहेको बताएका छन्। 

गृहपालिका गन्यापधुरामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले वैदेशिक हस्तक्षेपमा रहेका नेपालको भूमि कुटनीतिक पहल र भाइचाराको सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताएका हु्न्। 

आफू पनि सुदूरपश्चिमकै मानिस भएका कारणले पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य छिमेकी राष्ट्रसँग  जोडिएको भूमि विवाद कुटनीतिक पहलमार्फत समाधान गरी ल्याउन पहल गरिएको बताए।  

प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्ने बताए। उनलेले न्यायपालिका माथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने र  न्यायक्षेत्र स्वतन्त्र हुनुपर्ने बताए। 

एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा न्यायालय र संविधान कमजोर पार्ने चेष्टा गरेको संकेत गर्दै उनले आफू नेतृत्वको सरकारले न्याय क्षेत्रलाई स्वतन्त्र रूपमा छाडिदिएको बताए। 

कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद भंग गर्न नपाउन भन्ने किसिमले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको सविंधान समावेशी र अधिकार सिद्ध भएको उनको भनाइ छ। 

उनले उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोज्दा लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी सरकारको नेतृत्व गर्नु परेको बताए। 

राजनीतिमा स्थायी सत्रु र मित्र नहुने भएकाले माओवादी, समाजवादी र कांग्रेसबाट उम्मेदवार बनेका नेताहरूलाई मत हाल्न उनले आग्रह गरे।

डडेल्धुरामा मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताउँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति, सिँचाइ, खानेपानी र विद्यालय निर्माण जस्ता विकासका कुरा अघि बढेको बताएका छन्।

प्रधानमन्त्री देउवाले शनिबार बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।