पाल्पा २ का बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेय, प्रदेश सभा सदस्य तुलाराम घर्ती सहितको नेताहरुको टोलीले आज रैनादेवी छहराको मुझुङको विभिन्न स्थानमा घरदैलो तथा सभा गरेको छ । घरदैलो तथा सभामा पहिले एमालेले दुईतिहाई मत सहित सरकारको नेतृत्व गरेपनि पटक पटक संविधान विपरित संसद भंग गरेर जनमत कुल्चिएको भन्दै गठबन्धनले जनताको मतलाई सहि रुपमा सदुपयोग गर्न नेताहरुलाई सुझाव समेत दिएका छन् 

घरदैलो तथा सभामा प्रतिनिधि सभाका उम्मेद्वार सोमप्रसाद पाण्डेयले मुझुङ्गको कटौजेपानी, देउराली लगायतका क्षेत्रमा पर्यटकीय विकास गरिने बताउनुभएको छ । यस क्षेत्रको विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने बताउनुभएको छ । पूर्व उद्योग मन्त्री समेत रहनुभएका पाण्डेयले आफूले क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई जोड दिने गरेर काम गर्ने बताउनुभयो । यस्तै प्रदेश सभा पाल्पा (२) २ का उम्मेद्वार तुलाराम घर्ती मगरले पाल्पाको रैनादेवी छहराको मुझुङ्ग, छहरा, अमलावास क्षेत्रमा कृषि र पशुपालनको पाकेट कार्यक्रम संचालन गरि युवा स्वरोजगार र आयआर्जन वृद्धि गर्ने बताउनुभयो ।

उहाँले सुन्तला, अदुवा, खुर्सानी र वनजन्य पैदावारको माध्यमबाट यस क्षेत्रको युवाहरुलाई आयमुलक गतिविधिमा जोड्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा रहेको सडकको स्तरउन्नती र खानेपानी, सिंचाईको समस्या समाधानमा समेत आफूले ध्यान दिने बताउनुभयो । यसैविच सोमादीमा भएको सभामा नेता पाण्डेयले धजाबान्ने, सोमादी सिद्देश्वर मोटरबाटोको स्तरउन्नती, यस क्षेत्रको यातायात लिफ्ट खानेपानी, व्यवसायिक कृषि र पशुपालनको व्यवस्थापनलाई आफूले काम गर्ने बताउनुभयो ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, जिल्ला संयोजक राजेन्द्र प्रसाद विश्वकर्मा, एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी नेताहरु रामबहादुर कार्की, राम कार्की, पाका नेता राजेन्द्र गोपाल सिंह,लगायतले यस क्षेत्रको विकासमा आफूहरुले प्रतिवद्धता अनुसारको काम गरेर छाड्ने भएकोले यसपाली गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँले एमालेका उम्मेद्वारलाई २०७४ सालमा मत दिएर पटक पटक संसद विघटन गरेर जनमत खेर गएको भन्दै फेरी पनि मत खेर नजाला भनेर भन्न नसकिने भएकाले सबै मतदाताहरु सचेत रहन आग्रह गर्नुभयो ।