पाल्पा, पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अठोट लिएका हुन् ।
सोमबार उनीहरुले रैनादेवी छहराको मुझुङ र सोमादीमा गठबन्धनको चुनावी सभालाई सम्बाेधन गर्दै गठबन्धनको सरकारले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका हुन् ।
पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले मुझुङ्गको कटौजेपानी, देउराली लगायतका क्षेत्रहरुको विकास र विस्तार गरी पर्यटकीय गन्तव्य बनाउने प्रण गरे । उनले यस क्षेत्रको विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले आफूले यस क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई समेत प्राथमिकतामा राखेर काम गर्ने बताए ।
प्रदेश सभा पाल्पा (२) २ का उम्मेद्वार तुलाराम घर्ती मगरले पनि यहाँ थुप्रै हेर्न र घुम्न लायक स्थानहरु रहेकाले त्यसकाे विकास र विस्तार गरी पर्यटनको केन्द्र बनाउने दिशामा आफुु लाग्ने उद्घोष गरे । घर्तीले यस क्षेत्रको पर्यटन र कृषिको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समेत मतदाताहरुलाई आग्रह गरे । उनले रैनादेवी छहराको मुझुङ्ग, छहरा, अमलावास क्षेत्रमा कृषि र पशुपालनको पकेट कार्यक्रम सञ्चालन गरी युवा स्वरोजगार र आयआर्जन वृद्धि गर्ने समेत बताए ।उनले सुन्तला, अदुवा, खुर्सानी र वनजन्य पैदावारको माध्यमबाट यस क्षेत्रका युवाहरुलाई आयमुलक गतिविधिमा जोड्ने समेत बताए । घर्तीले यस क्षेत्रमा रहेको सडकको स्तरउन्नती र खानेपानी, सिंचाईको समस्या समाधानमा समेत आफूले ध्यान दिने प्रतिवद्धता जनाए । कार्यक्रममा गठबन्धनका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सत्तामा पुगेर मन्त्री बन्नका लागि नभएर पाल्पा र समग्र मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नै पर्ने बताए । श्रेष्ठले भने ‘ महिला, युवा, अशक्तहरुको हितसँगै गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको छ ,त्यसैले पनि गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प छैन् ।
’नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय पुरन केसी, अनिल किशोर घिमिरे, जिल्ला संयोजक राजेन्द्र प्रसाद विश्वकर्मा, युवा नेताहरु रामबहादुर कार्की, राम कार्की, काँग्रेसका वरिष्ठ नेता राजेन्द्र गोपाल सिंह, एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी, चिरञ्जीवी पोखरेल, ठाकुर प्रसाद नेपाल लगायतले यस क्षेत्रको विकासमा आफूहरुले प्रतिवद्धता गरेका अनुसारका काम गर्न यसपाली गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । उनीहरुले एमालेका उम्मेदवारलाई २०७४ सालमा मत दिएर पटक–पटक संसद विघटन गरेर जनमत खेर गएको भन्दै फेरी पनि मत खेर नजाला भनेर भन्न नसकिने भएकाले सबै मतदाताहरु सचेत रहन समेत आग्रह गरे




