मधेश प्रदेशको कार्यक्रम ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सीडीई, सहलेखापाल, ओम सत्य साई प्रालि, वीरगंज, पर्साका म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालसमेत ६ जना र सो संस्था उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो।

 मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो। 

सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवम् हानी नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। 

उनीहरुविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।