
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।
अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।
नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ । ‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ,’ गठबन्धनका एक नेता भन्छन्, ‘संसद चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’




