
काठमाडौं,
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको लामो अनुसन्धानको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिलको कार्यालयले बिहीबार विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो।
विशेष अदालतका प्रवक्ता पार्वती हितानका अनुसार मुद्दामा उपाध्यक्ष पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरिएको छ। साथै, पौडेलको नाममा एभरेस्ट बैंकमा रहेको ६ लाख ३४ हजार रुपैयाँ बराबरको रकम समेत जफत गर्न माग गरिएको छ।
प्रतिवादीहरूमाथि बिचौलिया दीपक भट्टसँगको मिलेमतोमा नीतिगत भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाइएको छ। यस प्रकरणमा ६ जना व्यक्तिसहित १० वटा कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ।
विशेष अदालतमा दायर भएको यस मुद्दालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। अब अदालतले प्रतिवादीहरूलाई उपस्थित हुन म्याद जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।




