
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्न व्यालेस्टिक मिसाइल जस्ता अस्त्रहरू प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको बताउनुभयो । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विदेशी हस्तक्षेप रोक्ने हतियार नभई जनताको एकता नै मुख्य शक्ति भएको भन्नुभयो ।सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै । तर, हामीले कुनै व्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत हामीसँग छैन । त्यसैले जनताको तागत, जनताको एकता र शक्ति नै हाम्रो लागि मुख्य शक्ति हो ।’
प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको बताउनुभयो । उहाँले जेनजीले दिएको ‘सच्चिने कि सक्किने’ चेतावनीलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भन्नुभयो, ‘जेनजी आन्दोलनले पार्टी र हामी नेताहरूलाई चुनौती दियो । मैले त उनीहरूलाई धन्यवाद दिएँ, तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो ।’
उहाँले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी गर्नुभयो । युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीसँग मिल्दोजुल्दो रहेको दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिले हजारौं जेनजी युवाहरू हामीसँग जोडिनुभएको छ । उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भनिरहनुभएको छ । यो देखेर कतिपय शक्तिहरू सबै नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भयो भनेर आत्तिएका पनि छन् ।’
उहाँले आफूहरू जनतासँग आत्मसमीक्षा गरेर तल्लो तहसम्म पुगेको बताउँदै अहिले पार्टीप्रति उत्साहित हुने वातावरण बनेको दाबी गर्नुभयो ।




