नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

गठन भएको पहिलो दिन (कात्तिक १९ गते बुधबार) नै दल दर्ताको लागि निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टीले निवेदन दिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न १० वटा वाम घटक मिलेर हिजो मात्रै काठमाडौँमा नेपाली कम्युनिस्ट पार्टीको घोषणा गरिएको थियो।

‘नयाँ पार्टीको घोषणालगत्तै संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालसहितका नेताको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको हो,’ आचार्यले भने।

नेपाली कम्युनिस्ट पार्टीको एकता प्रक्रियामा सहभागी १० दलमध्ये ६ वटा दल यसअघि नै निर्वाचन आयोगमा दर्ता थिए। ती सबै दलका प्रमुखको हस्ताक्षरसहित नेपाली कम्युनिस्ट पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन परेको हो।  

नवगठित नेकपाको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन्।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी अघि बढाएको छ। निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।