
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सत्तारुढ ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले साना दलहरूप्रति प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको आरोप लगाएका छन् । कांग्रेस नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न आग्रह गरेका हुन् ।
उनले न्यायालय र अख्तियार जस्ता निकायलाई प्रतिपक्षी दलहरूको विरुद्ध दुरुपयोग गर्ने प्रयास भइरहेको बताए । ‘दुई ठुला पार्टीहरू सरकारमा हुनुहुन्छ । तपाईँहरूसँग बढी जिम्मेवारी छ,’ पुनले भने, ‘दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ।’
पूर्वअर्थमन्त्री समेत रहेका पुनले माओवादी केन्द्र आफ्ना विगतका गल्तीहरूका लागि जनतासँग माफी माग्न र सच्चिन तयार रहेको बताए । उनले भने, ‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ ।’ उनले ठुला पार्टीहरूले आफ्ना गल्तीहरू ढाक्न थप गल्तीहरू गर्दै जाने प्रवृत्ति छाड्न कांग्रेस र एमालेलाई आग्रह गरे ।
पुनले रास्वपाको उदयलाई जनताले पुराना दलहरूप्रति प्रश्न उठाएको रूपमा व्याख्या गरे । उनले लोकतन्त्रको विकल्प राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता नै हुनुपर्नेमा जोड दिए । ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन,’ उनले भने, ‘पुराना पार्टी र नेताहरूले आफूलाई परिष्कार गरेर विचार र निष्ठाका साथ अघि नबढे थप निराशा छाउनेछ ।’
उनले अब बलिदानको विगतको ब्याजले मात्र राजनीति नचल्ने भन्दै पुराना नेताहरूले विचार, राजनीतिक निष्ठा र लोकतान्त्रिक संस्कार देखाउनुपर्नेमा जोड दिए ।




