राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको नाममा भइरहेको भ्रष्टाचार र मानव बेचबिखनको विरुद्धमा संसद् र सडक दुवै ठाउँबाट आन्दोलनलाई थप सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको बैठक बुधबार भैरहवामा सम्पन्न भएको थियो। बैठकमा चालु बजेट अधिवेशनमा पार्टीका सांसदहरूले जनताको मुद्दा प्रभावकारी रूपमा उठाएको मूल्यांकन गर्दै सो विषयलाई अझ प्रभावशाली ढंगले अघि बढाउने निर्णय गरिएको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, “संसद्मा जनताको पीडा उजागर गर्न हामी सफल भयौं। सरकारको गलत नीति र भ्रष्टाचारविरुद्ध हाम्रो आवाज जनताले महसुस गरे।”

उनका अनुसार, रास्वपाले गरिरहेको आन्दोलनले नागरिकबीच सन्देश गएको छ कि पार्टीले संख्याको घमण्डमा रहेका सत्ताधारीहरूसँग सम्झौता गरेको छैन। उनले भने, “संवादको ढोका खुला राख्दै, हामी जनताको पक्षमा उभिएको सन्देश दिन चाहन्छौं।”

रास्वपाले संसद्मा उठाएका मुद्दाहरूमा भ्रष्टाचार, संगठित अपराध, र मानव बेचबिखनजस्ता गम्भीर विषयहरू छन्। पार्टीले ठोस नीति र आन्दोलनमार्फत ती विषयलाई निरन्तर उठाउने निर्णय गरेको छ।

सन्तोष परियारले कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरूसँग पनि जनमुखी मुद्दामा सहकार्य हुनसक्ने विश्वास व्यक्त गर्दै भने, “संसद्‌मा जनताको हकहितको पक्षमा निर्णय गर्न संख्याभन्दा पनि नैतिकता र इच्छाशक्ति आवश्यक छ। हामी संगठित अपराधको प्रतिवाद सदन र सडक दुवैबाट गर्नेछौं।”

रास्वपाले हालै उठाएको भिजिट भिसा दुरुपयोग, मानव बेचबिखन, र कर्मचारी मिलेमतोमा भइरहेको शोषण लगायतका विषयमा जनस्तरमै दबाब सिर्जना गरिरहेको छ, जुन अब अझ तीव्र र प्रभावशाली हुने भएको छ।