नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा तीन अर्ब २० करोडभन्दा बढीको आर्थिक अनियमितता भएको ठहरसहित उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा बुधबार मुद्दा दायर गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय, बाँकेले नेपालगञ्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो। मुद्दामा चार जना पक्राउ परेका छन् भने अन्य १०५ जना फरार रहेका छन्।

उच्च अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, बैंकमा संलग्न १०९ जनालाई प्रतिवादी बनाएर कुल रु. ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ बिगो कायम गरिएको छ।

पक्राउ पर्नेहरूमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत रहेका छन्।

बिगो विवरणअनुसार:

  • राजेन्द्रवीर राय: रु. २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७
  • पशुपति दयाल मिश्र: रु. ८२ करोड ४६ लाख २९ हजार
  • वेदप्रकाश सिंह ठकुरी: रु. २४ करोड ६३ लाख ९९ हजार
  • भुवन बस्नेत: रु. १० लाख ८९ हजार २५०

१०८७ पृष्ठ लामो मुद्दाको मिसिल हाल रुजु गर्ने कार्य भइरहेको छ भने पक्राउ परेकाको बयान बिहीबारदेखि लिन सुरु गरिने सूचना अधिकारी विष्टले जानकारी दिए।

यस घोटालाको अनुसन्धान सिआइबीले गरेको हो, र पक्राउ परेकाहरूलाई बाँकेको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली विकास बैंकलाई समस्याग्रस्त बैंक घोषणा गरेको थियो। त्यसयता बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ।

बैंकको पुनःव्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ, जसले २०८१ पुस ११ गतेदेखि कार्यभार सम्हालेको हो।