नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ अन्ततः पदमुक्त भएकी छन्। पार्टी संरक्षक र उनका श्रीमान् रेशम चौधरीले नेतृत्व परिवर्तनको माग गर्दै अघि सारेको प्रस्तावलाई केन्द्रीय समिति र राष्ट्रिय भेलाले पारित गरेसँगै श्रेष्ठको अध्यक्ष पद समाप्त भएको हो।

रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा श्रेष्ठले स्वयं रेशम पार्टी सदस्य बन्न अयोग्य रहेको दाबी गर्दै लिखित जवाफ पेश गरेकी थिइन्। तर, अहिले त्यही रेशम पक्षधर बहुमत केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेका छन्।

यद्यपि, कानुनी प्रक्रिया र निर्वाचन आयोगको निर्णयको आधारमा अन्तिम टुंगो भोलि लाग्ने नेताहरूले जनाएका छन्।

पूर्व भूमि व्यवस्था मन्त्री समेत रहेकी श्रेष्ठले अदालतमा पेश गरेको आफ्नो जवाफमा भनेकी थिइन्, “जन्मकैदको सजाय भोगिरहेको व्यक्तिले पार्टी सदस्यता लिन वा महाधिवेशनमा भाग लिन सक्दैन।”

२०७८ पुस १९ मा जेलमै रहेका बेला रेशम चौधरीले पार्टी गठन गर्दा श्रेष्ठलाई अध्यक्ष बनाएका थिए। तर, पछिल्लो समय अध्यक्ष पदको विषयमा दुवैबीच मतभेद चुलिएको थियो। रेशम चौधरीले गत १४ साउनमा आयोजना गरेको राष्ट्रिय भेलामा श्रेष्ठलाई पदमुक्त गर्ने प्रस्ताव पारित गरिएको हो।

श्रेष्ठले स्वास्थ्य कारण देखाउँदै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि विवाद झनै गहिरिएको थियो। तर, महासचिव ठाकुरसिंह थारुसहितका नेताहरूले यो निर्णय पार्टी विधानविपरीत भएको भन्दै विरोध जनाएका थिए।

पार्टीले स्पष्टीकरण माग्दा पनि श्रेष्ठले जवाफ नदिएको भन्दै उनीमाथि कारबाहीको वातावरण बनेको थियो। पार्टीका अनुसार उनको गतिविधि, निर्णय र विगतका विवादित प्रकरणहरू समेतलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।

श्रेष्ठ विभिन्न विवादमा पनि मुछिएकी छन्। भूमि आयोगको सरुवा प्रकरणदेखि लिएर मालपोत कार्यालयमा हस्तक्षेप, फोन संवाद र आर्थिक लेनदेनको आशंका समेत उठाइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा श्रेष्ठसँग बयान समेत लिएको थियो।

पार्टीभित्र रेशम र श्रेष्ठबीचको टकराव लामो समयदेखि सार्वजनिक रूपमा देखिँदै आएको छ। शक्ति सन्तुलन, गठबन्धन नीति, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता र जनमत पार्टीसँगको एकता प्रक्रिया जस्ता विषयमा पनि उनीहरूबीच ठूला मतभेद देखिएका थिए।

श्रेष्ठले आफूलाई पार्टीबाट बञ्चित गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा गहिरो असन्तुष्टि प्रकट गरेकी थिइन्। उनले लेखेकी थिइन्, “मैले रुख जस्तै बन्छु मात्रै भनेको थिएँ, साथीभाइहरू त बञ्चरोमा धार लगाउन थालेछन्।”

दुवै पक्षका नेताबीच काठमाडौँस्थित पार्टी कार्यालयमा हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो। श्रेष्ठ पक्षधरहरूले रेशममाथि धम्की दिएको आरोप लगाएका थिए भने रेशमले श्रेष्ठकै कारण आफू मानसिक तनावमा रहेको सार्वजनिक प्रतिक्रिया दिएका थिए।

यस विवादका कारण श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारी पनि गुमाएकी थिइन्। उनलाई हटाएर गंगाराम चौधरीलाई दलको नेता बनाइएको थियो।

यद्यपि, २०८१ असोजमा दुबै पक्षबीच सहमति भएर ‘एक भएर अघि बढ्ने’ निर्णय सार्वजनिक गरिएको थियो। तर, पछिल्लो घटनाक्रमले देखाएको छ कि त्यो सहमति धेरै समय टिक्न सकेन।

स्रोतहरूका अनुसार नाउपाको हालको विवादले आगामी दिनमा पार्टी संरचना र नेतृत्वमा थप परिवर्तन ल्याउने सम्भावना बलियो देखिन्छ।