–ऋनिलकिशोर घिमिरे
साहित्य सिर्जना लेखकको अन्तर्मनको अभिव्यक्ति मात्र होइन, समाजप्रति जिम्मेवार बौद्धिक चेतनाको उजागर पनि हो । लेखक सिताराम घिमिरेद्वारा रचित मुक्तक संग्रह त्यसको ज्वलन्त उदाहरण हो । घिमिरेको ६८ वर्षको लामो जीवन यात्रा, विशेषगरी ४१ वर्षको शिक्षण पेशा र हालको सामाजिक सेवाको अनुभव, उनको मुक्तक संग्रहमा स्पष्ट झल्किन्छ । पाल्पाको तानसेनमा जन्मेर प्रगतिशील साहित्यमा रुचि राख्ने घिमिरेका ३९३ मुक्तकहरू सामाजिक भावना र प्रगतिवादी सोचले ओतप्रोत छन् । प्रस्तुत समीक्षा मुक्तकको संरचनाभन्दा पनि त्यसको भावमा केन्द्रित छ ।
यो मुक्तक संग्रह शुद्ध साहित्यिक संरचना वा शैलीगत चमत्कृतिमा सीमित नरही सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षमा केन्द्रित भाव–अभिव्यक्तिमा आधारित छ । मुक्तकहरू भावात्मक चेतनाले ओतप्रोत छन् जसमा देशप्रेम, असमानता, भ्रष्टाचार, संस्कृतिको क्षय, युवा पलायन, बेरोजगारी, विकासप्रति निराशा र भविष्यप्रतिको आशा सबै भेटिन्छ ।

जन्मभूमिप्रतिको अनुराग र सामाजिक यथार्थ
घिमिरेको मुक्तक संग्रहको प्रारम्भिक मुक्तकमै जन्मभूमिप्रतिको गहिरो प्रेम र गौरव व्यक्त भएको पाइन्छ । उनी जहाँ गए पनि छिट्टै पाल्पा फर्किन मन लाग्ने, त्यहाँको स्वादिष्ट चुकाउनीको स्वाद लिने र श्रीनगरको काखमा रहेको सुन्दर तानसेनमा सधैँ रमाउन पाउने अभिलाषा व्यक्त गर्छन् । यो जन्मस्थान प्रतिको मोहले पाठकलाई पनि आफ्नै माटोको सम्झना गराउँछ ।
समाजमा व्याप्त धनी र गरिबबीचको असमानता, त्यसले ल्याएको लवाइखुवाइ र कामको दर्जामा देखिएको विभेदप्रति लेखकले गुनासो पोखेका छन् । यो यथार्थले उनको सामाजिक चेतनालाई उजागर गर्छ ।

राष्ट्रियता र सांस्कृतिक संरक्षणको सन्देश
घिमिरेले देशका नागरिकहरूलाई भूगोलको विविधताका बाबजुद मिलेर बस्न आह्वान गरेका छन् । विदेशी संस्कृतिको बढ्दो प्रभाव र त्यसले ल्याएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले देशकै संस्कार र संस्कृतिलाई अँगाल्न सल्लाह दिएका छन् । उनको मुक्तकले राष्ट्रियता र सांस्कृतिक चेतनालाई उच्च प्राथमिकता दिएको देखिन्छ ।
उनका शब्दमाः
“हिमाल पहाड तराई हाँसेको देख्न पाइयोस्
मुनाल नाच्दै कम्मर भाँचेको देख्न पाइयोस्
विदेशी पहिरनले जित्दैछ अबको पुस्तालाई
भेषभूषा संस्कृति सधैँ साँचेको देख्न पाइयोस”
उनका धेरैजसो विषयहरू देशभक्तिपूर्ण भावमा उल्लेखित छन् । खासगरी वामपन्थी विचार र प्रगतिशील क्षेत्रमा कलम चलाउने लेखकहरूले प्रायः राष्ट्रप्रेमी विचारहरू सम्प्रेषण गर्ने गर्छन् र घिमिरे यसको अपवाद छैनन् ।

लेखकमा निराशा
देशमा बढ्दो महँगी र विकासका कामहरूले गति नलिँदा लेखक निराश देखिन्छन् । सूचना प्रविधिको विकाससँगै यसको दुरुपयोग र विकृति बढेकोमा पनि उनको चिन्ता छ । धेरै प्रगतिका कुरा गर्ने लेखक कतै–कतै भने साह्रै निराशा पनि व्यक्त गर्छन् । भ्रष्टाचार र बेथिति देख्दा उनलाई अत्यास लाग्छ ।
सहरी तडकभडकभन्दा गाउँकै शीतलतालाई राम्रो भन्दै उनी खुला आँगन र प्राकृतिक सौन्दर्यप्रति लालायित देखिन्छन् । यसले उनको प्रकृति प्रेम र सरल जीवनशैलीको आकांक्षालाई प्रतिविम्बित गर्छ ।

समाजवादको खाका
लेखकले उदाउँदा युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने माग गर्दै समाजवादको सपना देखेका छन् । उनको आह्वान छः
“युवाको चेहेरामा बलियो विकल्प खोजेर
हिँड्नुपर्छ विकासको दह्रो संकल्प बोकेर
लक्ष्य होस् शिक्षा र स्वास्थ्यको सुधार
रोजगारमूलक बलियो विकल्प खोजेर”
घिमिरेले विधिको शासनमा जोड दिएका छन् । जातीय सद्भाव कायम राख्न सचेत गराउँदै देशको सार्वभौमिकतालाई टुक्रा नबनाउन खबरदारी समेत गरेका छन् ।

मानवीय प्रवृत्ति र नैतिकताको पाठ
मानिसहरूले सधैँभरि बाँच्ने जस्तो गरेर धनको घमण्ड गर्छन्, तर मृत्युले सबै कुरा छोडेर जानुपर्ने यथार्थलाई उजागर गर्दै लेखकले इमान र नैतिकतामा बस्न सुझाव दिन्छन् । उनको मुक्तकले मानिसको लोभ र मृत्युको अकाट्य सत्यलाई औंल्याउँछः
“लुटेको सम्पत्ति सबै राख्न पाउने भए
भए जति मिठो आफैँ खान पाउने भए
मरेपछि के–के गर्थे होला मृत्युलोकमा
बँचेको सम्पत्ति पनि लान पाउने भए”

व्यक्तिगत जीवनका झलक र आशावाद
लेखक घिमिरेले डायरीका पाना पल्टाउँदै कहिलेकाहीँ मन बहलाउन रोदीघर गएको र होस गुमाउँदासम्म रमाइलो गरेको स्मरण गर्छन् । यसले उनको जीवनको सौन्दर्यलाई प्रतिबिम्बित गर्छ ।
“जीवन अनमोल छ राम्रो सँग सुधार्न सके…” भन्ने मुक्तक जस्ता अभिव्यक्तिहरू लेखकको आत्मचिन्तन, अनुभव र दर्शन समेटिएका छन् । उनी युवाहरूलाई धैर्य, इमान र व्यवस्थापनको सन्देश दिन्छन् । जीवनको उतारचढाव स्वीकार्दै त्यसमा सुन्दरता देख्न सक्ने दृष्टिकोण उनका मुक्तकहरूको सशक्त विशेषता हो ।
उनले जीवनलाई व्यवस्थित गर्न सल्लाह दिँदै भन्छन् ः
“जीवन अनमोल छ राम्रोसँग सुधार्न सके
जीवन भद्रगोल पनि छ तह लाउन नसके
जीवनमा सधैँ उतारचढाव त आइरहन्छ नै
सुन्दर पनि बनाउन सकिन्छ धैर्य गर्न सके”
लेखकले एक ठाउँमा आफ्नै जीवनको परिदृश्य औंल्याएका छन्, सायद धेरैको यस्तै हुन्छ भन्ने मान्यताले पनि होला ।

मातृभूमिप्रतिको गौरव
मुक्तक संग्रहको अन्तिमतिर लेखक संसारको अग्लो शिखर सगरमाथा रहेको र बुद्ध जन्मेको शान्त ठाउँका नागरिक हुनुको नाताले गर्व गर्छन् । अन्त्यमा, आमाबुबाको योगदानप्रति सधैँ ऋणी भएको जनाउँदै मातृभूमिलाई फेरि एकपटक नमन गर्दछन् ।

निष्कर्ष
घिमिरेको मुक्तक संग्रह भावनाको सहज बगाव, यथार्थको प्रतिविम्ब र आशाको स्पन्दन हो । सामाजिक रूपान्तरणमा विश्वास राख्ने लेखकले शब्दमार्फत चेतनाको दीप बाल्ने प्रयास गरेका छन् । साहित्यिक मापदण्ड मात्र होइन, सामाजिक उत्तरदायित्वका दृष्टिले पनि यी मुक्तकहरू उल्लेखनीय छन् । संरचना भन्दा भावनामा केन्द्रित यस कृति नेपाली समाजको एक अविरल तस्वीर हो ।