पाल्पा,

तानसेन नगरपालिकाले महिलामैत्री पूर्वाधार निर्माणमा महत्वपूर्ण प्रगति हासिल गरेको छ। उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको विशेष पहलमा नगरपालिकाले महिलाहरूको आवश्यकतालाई सम्बोधन गर्दै विभिन्न संरचनाहरूको निर्माण तथा सुधार गरेको हो।

उपप्रमुख सिंजालीले आफ्नो योजना अनुगमनका क्रममा महिलाहरूले भोग्नुपरेका विभिन्न समस्याहरूलाई नजिकबाट नियालेकी थिइन्। खुल्ला धाराहरूमा पुरुषहरूसँगै नुहाउँदा महिलाहरू दृष्टि हिंसाको शिकार बन्न सक्ने खतरा, कार्यालयमा आउने सेवाग्राही र महिला कर्मचारीहरूले आफ्ना बालबालिकाहरूलाई खुल्ला रूपमा स्तनपान गराइरहेको अवस्था, र महिलाहरूका लागि छुट्टै शौचालयको अभावजस्ता समस्याहरूले उनलाई महिलामैत्री पूर्वाधारको अवधारणा अगाडि बढाउन प्रेरित गर्यो।

सोही अनुभूतिलाई आधार मान्दै उपप्रमुख सिंजालीले महिलामैत्री पूर्वाधारको अवधारणा ल्याई कार्यविधि समेत निर्माण गरी बजेट विनियोजन गर्न सफल भइन्। आर्थिक वर्ष २०८०/०८१ मा यसका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यस बजेटबाट तानसेन वडा नम्बर ५ मा महिलामैत्री भवन निर्माण गरियो भने वडा नम्बर २ र ७ मा महिला स्नानगृहहरू निर्माण सम्पन्न भएका छन्।

त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ को २० लाख रुपैयाँ बजेटले थप रचनात्मक कार्यहरू भएका छन्। यस बजेटबाट तानसेन वडा नम्बर ११ मा गाईमुखे धारा व्यवस्थापन, तानसेन वडा नम्बर १२ मा मौवा डाँडा खानेपानी पाइप व्यवस्थापन र तानसेन वडा नम्बर १४ को वडा कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ।

उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको सक्रिय पहलमा भएका यस्ता रचनात्मक कार्ययोजनाले लक्षित समुदाय, खासगरी महिलाहरूमाझ ठूलो खुसी ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटमा पनि अन्य वडाहरूमा महिलामैत्री स्नानगृह र शौचालय निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको उपप्रमुखले जानकारी दिइन्। यस प्रकारका कार्यक्रमहरूलाई नगर प्रमुखको समेत सकारात्मक पहलकदमी र सहयोग प्राप्त भएको देखिन्छ।

यस्ता दूरदर्शी योजनाहरूले तानसेन नगरपालिकामा महिलाहरूको जीवनलाई सहज र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।