शक्ति सन्तुलन र पदाधिकारीको कित्ताकाट

एमाले पदाधिकारी स्रोतका अनुसार, विद्या भण्डारी समूहमा नौ जना पदाधिकारी खुलेका छन् भने केपी ओली समूहमा सात जना खुलेका छन्। दुई जना पदाधिकारीले भने आफ्नो कित्ता प्रस्ट पारेका छैनन्। सचिव टोपबहादुर रायमाझी हाल निलम्बनमा छन्।

विद्या भण्डारी समूह

विद्या भण्डारी समूहको नेतृत्व हाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन्। पोखरेलले अध्यक्ष ओलीको लाइनलाई निरन्तर काउन्टर दिइरहेको देखिन्छ। यस समूहमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि भण्डारीलाई साथ दिने सम्भावना रहेको एमाले स्रोतको दाबी छ। यी तीनै जना नेता ओली लाइनका मानिँदैनन् र एमाले विभाजन हुँदा माधव नेपालसँग जानबाट रोकिएका थिए। उनीहरू एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको बाध्यात्मक व्यवस्थाको पक्षमा छन्, जसले गर्दा उनीहरूको साथ ओलीभन्दा भण्डारीको पक्षमा हुने आकलन गरिएको छ।

यसैगरी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि भण्डारी समूहमा रहने सम्भावना छ। गुरुङलाई पहिला पनि भण्डारीकै कोटाबाट मन्त्री बनाइएको चर्चा थियो। सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुवीर महासेठ पनि भण्डारीनिकट मानिन्छन्। यद्यपि, भट्टराई अहिले संस्थापन लाइनमा देखिएका छन् भने विश्वकर्मा र विष्टले आफ्नो धार प्रस्ट पारेका छैनन्। महासेठलाई भने पहिला ओलीनिकट मानिए पनि उनी खासमा वामदेव गौतमनिकट नेता हुन् र गौतमले झलनाथ खनाल समूह छोड्नुअघि नै उनले गौतमलाई छोडेको एमाले नेताहरू बताउँछन्।

केपी ओली समूह

केपी ओली समूहमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल खुलेर देखिएका छन्। महासचिव पोखरेलले भण्डारीले काठमाडौंमा सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दा पोखरामा पुगेर त्यसको आलोचना गरेका थिए। केही दिनअघि एमाले सचिवालय बैठकमा उनले पूर्वराष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा फर्किन विधानबाटै रोक लगाउनुपर्ने प्रस्तावसमेत उठाएका थिए। सचिव पद्मा अर्याल पनि ओलीनिकट सचिवको रूपमा हेरिएकी छिन्।

मौन रहेका पदाधिकारी

उपाध्यक्ष विष्णु पौडेलसचिव लेखराज भट्ट भने हालसम्म मौन देखिएका छन्। पौडेललाई केही समयअघि विद्या भण्डारीनिकट मानिए पनि अर्थमन्त्री भएपछि उनी मौन रहँदै आएका छन्। अर्याललाई पनि पहिला भण्डारीकै समूहको मानिए पनि अहिले उनी ओली लाइनमा देखिएको एमाले स्रोतहरू बताउँछन्।

यसरी एमालेभित्र पदाधिकारीहरूबीचको यो कित्ताकाटले आगामी दिनमा पार्टीको आन्तरिक राजनीति अझ रोचक बन्ने देखिन्छ।