काठमाडौं — नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनलाई बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन्। विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी आन्दोलनको २७औँ दिन सोमबार सम्बोधन गर्दै उनले आइतबारको प्रहरी हस्तक्षेपको घोर भर्त्सना गरे।

अध्यक्ष सुवेदीले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी ढुंगामुढा गराएर प्रहरी दमन गराइएको बताए। उनले भने, “सत्तामा बस्नेहरू थाकेर भाग्न सक्छन्, तर शिक्षकहरू माग पूरा नभएसम्म आन्दोलनबाट पछि हट्दैनन्।”

उनका अनुसार, शिक्षकहरूले उठाएका २४ बुँदे मागमध्ये तत्काल कार्यान्वयन गर्न सकिने १६ बुँदाको कार्यसूची सरकारले तयार पारेको छ, जुन आन्दोलनको आधिकारिक दस्तावेज हो। सुवेदीले आइतबारको घटनामा ६२ जना शिक्षक घाइते भएको र घाइतेहरू पनि आन्दोलनमा फर्किएको जानकारी दिए।

अध्यक्ष सुवेदीले आन्दोलनलाई कमजोर बनाउन अफवाह र गलत प्रचार भइरहेको भन्दै शिक्षकहरूलाई सचेत रहन आग्रह गरे। उनले स्पष्ट पारे, “कुनै पाँच, सात वा नौ बुँदे सम्झौता भएको छैन, हामीले नेपाल सरकारसँग २४ बुँदे कार्यसूची पेस गरेका छौँ।”

अन्त्यमा उनले जोड दिए, “६२ जना मात्र होइन, आवश्यकता परे ६२ हजार शिक्षक घाइते हुन तयार छन्। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन।”