

काठमाडौं, चैत ३० – कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारलाई कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सत्तामा सहभागी हुँदाहुँदै पनि कांग्रेसले जनउत्तरदायी भूमिका निभाउनुपर्ने आवश्यकता औंल्याए।
“हामी सत्तामा छौं, तर सरकारमा छैनौं,” उनले भने, “सरकारले गलत काम गरिरहेको छ कि भन्नेबारे खबरदारी नगरे कांग्रेस आफैं अफ्ठ्यारोमा पर्छ।”
उनले सरकारमा सुशासनको अभाव रहेको र दण्डहीनता बढेको उल्लेख गर्दै संविधान संशोधनमा ढिलाइ भए जनआन्दोलन चर्किने चेतावनीसमेत दिए। एमालेसँगको सहकार्यलाई अस्वाभाविक नरहेको बताए पनि कोइरालाले कांग्रेसले उसलाई प्रतिस्पर्धीका रूपमा हेर्नुपर्ने धारणा राखे।