माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यो उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानको रुपमा भएको भन्दै आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

‘यो उपचुनावलाई नेपाली जनता भ्रष्टाचारको पक्षमा कि भ्रष्टाचारविरोधी छन् भन्ने यो सर्वोच्च अदालत हो । नेपाली जनता भ्रष्टाचार विरोधीको पक्षमा छन् । भ्रष्टाचारी र भ्रष्टाचार विराधीको जनमतसंग्रह हो,’ उनले भने, ‘कीर्तिपुर भ्रष्टाचारविरोधी नगर हो । कीर्तिपुरको पहिचान इतिहास, त्याग, बलिदानको प्रतिकको रुपमा चिनिन्छ ।’

उनले कांग्रेस-एमाले गठबन्धन अप्राकृतिक भएको आरोप लगाउँदै सरकारले सुशासनको मुद्दा छाडेको बताए । ‘यो सरकार अप्राकृतिक छ । कुनै पनि लोकतान्त्रिक देशमा पहिलो र दोस्रो पार्टी बनेर सरकार बनाउने चलन छैन । भारतमा बीजेपी र कंग्रेस मिलेर सरकार बनाउँदैनन्,’ उनले भने, ‘भ्रष्टाचारी, विचौलियाको रक्षा गर्नुपर्‍यो भनेर अप्राकृतिक रुपमा जसरी सरकार बन्यो ।’

उनले प्रतिपक्ष दलले संसद्‌बाट खबरदारी गर्ने उल्लेख गर्दै आवश्यक परे आन्दोलनमा जाने चेतावनी दिए । ‘जरुरी पर्‍यो भने एउटा नयाँ आन्दोलनतिर जानेछौं । खबरदारीको सरकारले सुनाइ गरेन भने प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं,’ उनले थपे, ‘त्यहाँबाट आन्दोलन छेडिनेछ । हरेक पालिकाबाट देशव्यापी रुपमा अभियान चलाउन बाध्य हुनेछौं ।’