पाल्पाका सात क्रियाशील राजनीतिक दलहरूले प्रधानमन्त्रीको नाममा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

२०८१ साउन १३ गते आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरूले सो ज्ञापन बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष राजेन्द्र विक , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी,राष्ट्रिय स्वतन्त्र पार्टीका जीवन पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, नेकपा (एकीकृत समाजवादी) का अशोककुमार शाही, नेपाल कम्युनिस्ट पार्टीका मीनबहादुर सी र राष्ट्रिय जनमुक्ति पार्टीका होमबहादुर थापाको हस्ताक्षर रहेको छ ।

ज्ञापनपत्रमा यदि द्विदलीय शासन प्रणालीको परिकल्पना गरिएको हो भने त्यो अलोकतान्त्रिक हुने धारणा व्यक्त गर्दै यस्तो प्रयासको घोर भर्त्सना गरिएको छ ।

एवम् प्रकारले ज्ञापनमा नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका फाइल खोली दोषीलाई कारबाही गरिनुपर्ने, राज्यलाई तिर्न बाँकी रहेको अर्बौं विद्युत् वक्यौता असुल गरिनुपर्ने, सिमलताल दुर्घटना, सौर्य एयरलाइन्स विमान दुर्घटना र देशभरिका प्राकृतिक विपत्तिमा परेका पीडितको खोजीकार्य र उद्धार गरिनुपर्ने माग र राखिएको छ ।

त्यस्तै, दलीय भागवण्डा वा नियुक्तिप्रति सचेत हुनुपर्ने, वर्षाको कारण देखाई उपभोग्य वस्तुको अभाव, मूल्यवृद्धि तथा कृत्रिम अभाव रोक्नुपर्ने र देशभरिका सामाजिक, शैक्षिक, धार्मिक र व्यावसायिक सङ्घसंस्थाको राजनीतिकरण रोकिनुपर्ने माग पनि राखिएको छ ।