नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस-एमालेबीच भएको सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्। विगतमा दलहरुबीच सहमति हुने तर कार्यान्वयन नहुने अवस्था रहेको उल्लेख गर्दै उनले अहिले पनि हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा सहमति कार्यान्वयनको विषयमा अविश्वास रहेको बताएका हुन्।

४२ औँ बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहमतिको एउटा बुँदामा स्थिरता दिने भनिए पनि ढुक्क हुने अवस्था चाहिँ नरहेको बताए। नेपालमा सरकारहरू धेरै बदलिएको प्रसङ्ग उल्लेख गर्दै उनले एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार र अर्को चरणमा काँग्रेस सभापतिको नेतृत्वमा सरकार बनाउने सहमति भएपनि त्यसअनुरूप सरकार बन्छ कि बन्दैनन् भन्ने विषयमा सबैको मनमा आशंका रहेको बताए।

उनले भने, ‘मनमा सबैको आशंका छ, यहाँ भाषण एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ। सदनमा ताली ठोक्नेको मनमा पनि त्यही छ। किनकि एकले अर्कालाई यति पटक ढाँटिसकेको छ। उसले उसलाई छक्क्याएको छ, अहिले हस्ताक्षर गर्नेहरूको पनि सदनमा बसेर हेर्दा ढाटेको १५/१६ पटक पुग्ने रहेछ। त्यहाँ कसले कसलाई ढाटेको भनेरै झुक्किने रहेछ। यो स्थितिमा हामी मिलेको छौं। यो तहको अविश्वास छ, हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा अविश्वास छ।’

महामन्त्री थापाले एमालेसँग भएको समझदारी काँग्रेसको कारणले तलमाथि नहुने पनि प्रष्ट पारे। काँग्रेसले विगत देखि त्यस कुराको पुष्टि गर्दै आएको उनको भनाई थियो। ‘अहिले एमालेसँग भएको लिखित समझदारी हाम्रो कारणले कहीँ पनि तलमाथि हुँदैन,’ उनले भने, ‘दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले कहीँ तलमाथि हुँदैन। यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौं।’

सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको महामन्त्री थापाको टिप्पणी छ। उनले काँग्रेस-एमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग पनि गरे। उनले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने जिकिर गरे।

‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ। ७ बुँदामा सहमति भयो भनेको छ। ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु। किनभने हामीले त पढ्यौं त्यसलाई। पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं। पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तीमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं।’