

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निस्केको बताउनुभएको हो ।
बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले संक्षेपमा पछिल्लो राजनीतिक परिस्थितिबारेमा पनि चर्चा गरेका छौँ । गएको फागुन २१ गते नयाँ सत्ता समीकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ ।’
सरकारको कामलाई प्रभावकारी बनाउँदै हामीले हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, लोकतन्त्रलाई जनताको जीवनसँग जोडने, भ्रष्टाचारविरुद्धको अभियानलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले आफ्नो कामबाट जनतामा विश्वास जगाउन बाँकी रहेको उहाँले चर्चा गर्नुभयो ।
‘अहिलेको निराशालाई चिर्दै देश बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा हामी केन्द्रित छौँ । बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौँ’ ज्ञवालीले थप्नुभयो, ‘सरकारका प्रारम्भिक गतिविधिहरू, अहिले सुरु गरेको स्पिरिटहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा गति ल्याओस् भन्ने अपेक्षा छ ।’
एमालेले आफू नेतृत्वको नयाँ सत्ता समीकरणले देशलाई सही बाटोमा ल्याएको र विकास निर्माणको कामलाई तीव्रता साथ अघि बढाएको जनाएको छ । वैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा आयोजना हुने पार्टी महाविधेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुहुने कामको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल हुने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, पार्टीका चारवटा आयोगले पनि बैठकमा आफ्नो कामको प्रगति विवरण पेस गर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो । एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी सो परिषद् बैठकमा छलफल हुने उहाँले बताउनुभयो । परिषद् बैठकमा करिब २५ सय प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डा वैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकको एजेन्डाहरूबारे छलफल भयो । सो परिषद्को बैठक हामीले सनराज हल गोदावरीबाट २०८१ वैशाख ८ गते बिहान ११ बजे सुरु गर्नेछौँ ।’
त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलको सहभागितामा वैशाख २० गते विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसमा प्रमुख राजनीतिक दलका नेताले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।