सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ।

सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ। ‘देशलाई मध्यम आयस्तरको विकासोन्मुख मुलुकको रूपमा रूपान्तरण गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो छ, सरकार त्यसतर्फ सचेत र सजग छ,’ विवरणमा भनिएको छ।

जनताको त्याग, संघर्ष र बलिदानबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र सम्बद्र्धन गर्दै लोकतान्त्रिक र जनउत्तरदायी राजनीतिक व्यवस्थाको माध्यमबाट मुलुकलाई सुशासन र अग्रगमनको दिशामा अघि बढाउन सरकार दृढ रहेको जनाइएको छ।

संविधान र प्रचलित कानूनहरूले मार्गनिर्देश गरेबमोजिम राज्यका नीति र दायित्वहरूका साथै सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा समेटिएका विषयहरूलाई शीघ्र र प्रभावकारी तवरमा कार्यान्वयन गरी आमनागरिकको विकास, सुशासन र समृद्धिको आकांक्षालाई जतिसक्दो छिटो पूरा गर्ने प्रतिबद्धता सरकारको छ। यसैगरी अन्तर्राष्ट्रिय जगतमा देशको सम्मान र प्रतिष्ठा अभिवृद्धि गर्न सरकारले आगामी दिनमा आफ्नो कार्यशैली र कार्यप्रणालीलाई थप चुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउँदै जाने उद्घोष गरेको छ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त एक वर्षको अवधिमा सम्पन्न भएका प्रमुख कार्यका पूर्ण विवरण यसप्रकार छ :