
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।
विराटनगरमा प्रेस सेन्टर नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधि(आइटी) सेवा निर्यात गरी स्वदेशमै बसेर विदेशी मुद्रा आर्जन गर्ने सम्भावना बढेको भन्दै त्यसलाई नयाँ रोजगारीको क्षेत्रको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको हो।
सूचना प्रविधिको क्षेत्रमा अझ धेरै सम्भावना खोजी गर्न सरकारी तवरबाट आइटी एक्जिबिसन गर्ने तयारी सरकारले गरिरहेको मन्त्री शर्माले जानकारी दिनुभयो। आइटी क्षेत्रमा युवालाई दक्ष बनाउन र नयाँ सम्भावनाको खोजी गर्न सरकारी तवरबाटै तालिम सञ्चालन गर्ने गरी मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ थियो।
पछिल्लो १० वर्षमा सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आइसकेको भए पनि त्यसलाई व्यवस्थित गर्न समयानुकूल नियम कानुन परिमार्जन नहुँदा कतिपय समस्या देखिएकोले सरकारले कानुन परिमार्जन गर्ने र नयाँ कानुन बनाउने तयारी गरेको मन्त्री शर्माले बताउनुभयो। नयाँ सन्दर्भमा सरकारले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको तयारी गरिरहेकोले सकारात्मक सुझावका दिन मन्त्री शर्माले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढङ्गले अगाडि बढ्ने तयारी भइरहेको बताउनुभयो।
एक वर्षको अवधिमा सरकारले प्राथमिकतामा राखेको सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने काममा सफल भएको मन्त्री शर्माले बताउनुभयो। यस अवधिमा ललित निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता ठुला काण्डहरूमा सफल अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्न सरकार सफल भएको र त्यसले सुशासन स्थापनामा सरकार प्रतिबद्ध रहेको पुष्टि भएको उहाँले बताउनुभयो।
‘‘ठुलाले जे गरे पनि हुन्छ र कानुन सानालाई मात्र लाग्छ भन्ने कुरा पछिल्ला काण्डमा सरकारले गरेका कामबाट खण्डित भएको छ र सरकार सुशासन स्थापना गर्न प्रतिबद्ध छ भन्ने यसले पुष्टि गर्छ,’’ मन्त्री शर्माले भन्नुभयो।




