प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको बताएका छन् । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छेहरू विक्षिप्त भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।गोरखाको भच्चेकमा योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा सरकारले अभियान सञ्चालन गरेको बताएका हुन् । जनतालाई राहत दिने र मुलुकमा सुशासन कायम गर्ने अभियानमा सरकार रहेको उनको भनाइ थियो ।

‘म तपाईंहरूको मतबाट निर्वाचित भएर गएपछि धेरै उतारचढावसहित प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर प्राप्त भयो । यो चुनौती पनि छ, अवसर पनि छ । अहिले सरकारको तर्फबाट जनतालाई प्रत्यक्ष रूपले राहत दिने काम सुरु गरिएको छ,’ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘सरकारको तर्फबाट सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्ध ठूलो अभियान नै छेडिएको छ । यसले एकथरी मान्छेहरूलाई विक्षिप्त बनाएको छ भने जनतालाई यो हाम्रो सरकार, जनताको सरकार हो भन्ने बनाएको छ ।’

सरकारले मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्नका लागि निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको र त्यो काम आफू प्रधानमन्त्री भएदेखि नै थालिएको दाहालको भनाइ थियो । सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको बताए ।

त्यस्तै, राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिविरुद्ध प्रहारको प्रयास भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्दै परिवर्तनका उपलब्धि बचाउनुपर्ने उनले बताए । ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । ठूलो त्याग, तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी छ,’ उनले भने ।प्रधानमन्त्री दाहालले आगामी चीन भ्रमणले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।