
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आज आयोजना गरेको २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभामा उनले सो कुरा बताएका हुन्।
देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिवर्तन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए। अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले देशमा धेरै बेथिति छन्। तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनै पर्छ। यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिवर्तनका आन्दोलनमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ।’
निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै उनले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए। प्रधानमन्त्री प्रचण्डले भने ‘हिजो बन्दुक बोकेर एकात्मक, निरंकुशतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सक्यौ, तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जीवनमा परिवर्तन ल्याउन अझ संर्घष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं। जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने भनेका छौं।’
सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रूपान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाई छ। प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी फेरिन चाहन्छौं जनतासँग जोडिएर, जनताको घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रुपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ।’
जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफूले माओवादी जनयुद्ध, जनयुद्धका घाइते अपांग शहिद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिवर्तनका विभिन्न आन्दोलनमा शहिद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहिद घोषणा गरेको उनले बताए। साथै, जनयुद्धलाई अमर बनाउने फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले बताए। शहिद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहिद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्। उनले सरकारको अहिले ध्यान गेम चेन्जर आयोजनामा गएको बताउँदै भने, ‘सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठूला आयोजनालाई देशको विकासलाई नयाँ युगतर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रुपमा परिवर्तन गर्छौं।’
हिजो अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममार्फत ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडेर समाजवादको भूण रोपेको उनले बताए। यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन्।




