कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई चलायमान बनाउन पाल्पाको तानसेन टुँडिखेलमा बिहिबारदेखि १० दिने पाल्पा महोत्सव सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १३औं संस्करणका रुपमा सुरु भएको महोत्सवमा पाल्पा र छिमेकी जिल्लाका उत्पादनका साथै राष्ट्रिय, बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री कक्ष राखिएको छ । महोत्सवको उद्घाटनअघि तानसेन बजार क्षेत्रमा विभिन्न वेशभूषामा सजिएकाहरु सांस्कृतिक झाँकी र्‍याली प्रस्तुत गर्दै बजार परिक्रामा गर्दै महोत्सवको प्रचार गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेको महोत्सवमा पाल्पाको पर्यटकीयस्थल रानीमहलको स्वरुपले सबैलाई आकर्षित गरेको छ । कृषि, घरेलु सामग्री, स्थानीय खानाका परिकारका साथै बाल उद्यान राखिएको पाल्पाा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए । घरेलु तथा कुटिर उद्योगका, ढाका उद्योग, गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाइललगायत तीन सय स्टल छ । महोत्सवबाट १० करोड बढीको कारोबार हुने लक्ष्य लिइएको छ भने तीन लाखभन्दा बढी दर्शकबाट अवलोकन हुने अपेक्षा लिइएको छ ।