
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तराईबाट आएका मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहलकदमी लिएका छन् । गत सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न तत्परता देखाएका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सबैभन्दा पहिले सचिवालय मार्फत काम गरेको उल्लेख गरेकी छन् । उनकाअनुसार तराईबाट पैदल हिँडेरै आउन थालेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गुनासो सुनेर सम्बोधन गर्न आग्रह गरिएको थियो । तर, प्रमुख जिल्ला अधिकारीबाट समस्या समाधान नभएपछि मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर काठमाडौँ झरेका हुन् ।सोही क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितसँग छलफल गर्न गृह सचिवलाई निर्देशन दिएका थिए । लगत्तै उनीहरूको समस्या समाधान गर्न समिति गठन भइसकेको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले पीडितका समस्या समाधान गर्न कानुन बनाउन तत्परता देखाएका छन् ।
मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड/सजायको व्यवस्था गर्ने बताइएको छ ।
अहिले मिटरव्याजको समस्या एकदमै देखियो । पीडितहरु काठमाडौं नै आएर आन्दालन गरिरहेका छन् । यसको समस्या जताततै देखिएपछि यसलाई अपराध घोषणा गर्ने र त्यसलाई अपराध संहितामा राख्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।




