सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।टोलीमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताकै विषयमा दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताले शनिबारमात्रै वार्ता गरेका थिए । त्यस्तै पहिले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सहयात्री दल नेकपा (एकीकृत समाजवादी)ले पनि वाम एकताको पहलका लागि सचिवालयलाई जिम्मा दिइसकेको छ । चुनावअघि नै एकीकृत समाजवादी र माओवादीले एकता संयोजन समिति बनाएका थिए । तर त्यसमा खासै प्रगति भने हुन सकेन ।

माओवादी बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत प्रदान गर्न प्रतिनिधिसभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले २६ मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर ११ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत ७ वटा दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।