प्रभु साहले छाडे एमाले, जसपाले पाएको सबै सिटमा ‘बागी’

नेकपा एमालेका नेता प्रभु साहले पार्टी परित्याग गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेका केन्द्रीय नेता घनश्याम भुसालले पार्टी छाडेको भोलिपल्ट साहले पनि पार्टी परित्याग गरेका हुन् ।

एमालेबाट रौतहट क्षेत्र ३ मा टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएको बताए।

जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको उनले बताए।

साहको समूहले जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा आइतबार स्वतन्त्र उम्मेदवारी समेत दिएको उनले जानकारी दिए ।
‘एमालेले जसपासँग चुनावी तालमेल गर्यो, ठूलो पार्टी एमाले जसपालाई जिम्मा लगाइदियो,’ साहले भने, ‘हामीले त्यस कुराप्रति समर्थन गर्न सकेनौं, जसपाले पाएको सबैमा बागी उम्मेदवारी दियौं। एमालेमै रहेर स्वतन्त्र उम्मेदवारी दिन नैतिकताले नदिएको हुनाले एउमाले परित्याग गरेका हौं।’

जब एमालेले जसपा र लोसपासँग तालमेल गर्न खोज्यो, आफूले केपी ओलीलाई भेटेर त्यसो नगर्न भनेको साहले बताए ।
उनले भने, ‘नेकपा एमाले जनताको बलमा एउटा ठूलो शक्ति बन्छ भनेर पार्टीमा लागेंको हुँ तर, जसपासँग तालमेल गरेपछि यसले चुनाव जित्नका लागि जे पनि गर्दोरहेछ भन्ने स्पष्ट भयो । जसपा साम्प्रदायिकता फैलाउने शक्ति हो । यहाँका मुख्यमन्त्री नै भ्रष्ट नम्बर एक हुन् ।’

साह अगाडि भन्छन्, ‘जसपाको कुनै विश्ववसनीयता छैन भनेर मैले केपी ओलीलाई पटक–पटक भनें । जसपासँगै मिल्ने हो भने त विचार र राजनीतिको भन्दा पनि चुनावकै लागि रहेछ नि त तपाईहरुको पनि राजनीति । तर, उहाँले मान्नुभएन र छलफल अगाडि बढाइराख्नुभयो । त्यसैले जति ठाउँमा जसपाका उम्मेदवार छन्, ती सबै ठाउँमा बागी उम्मेदवार उठाइएको छ ।’ 

प्रभुले धोका दिए : एमाले
नेकपा एमालेका एक नेताले बताएअनुसार साहले एमालेलाई धोका दिएका छन्। ती नेताका अनुसार शनिबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको तीनवटा टिकट लिएर गएका थिए। उनी रौतहटको प्रतिनिधि सभामा उनको र प्रदेश सभा अन्तर्गत रौतहट क्षेत्र नम्बर ३ (क) र (ख) को पनि टिकट लिएर गएका थिए।

एमालेका ती नेताले भने, ‘आइतबार दिउँसो ३ बजेसम्म उनले उम्मेदवारी मनोनयन गराएनन्। अनि रौतहटमा एमालेले पाएका अन्य क्षेत्रमा उम्मेदवारी मनोनयन गर्न टिकट फ्याक्स गरेर एमाले केन्द्रीय कार्यालयले पठायो । सक्कली भने निर्वाचन आयोगको कान्तिपथ कार्यालयमा लगेर बुझायौं,’ ती नेताले भने, ‘तर, साहले उम्मेदवारी मनोनयन गरेको खबर अझै पाइएन। हाम्रा नेताहरुले अपरान्ह ४ः३० सम्म कुर्नुभयो । मनोनयन दर्ताको समय सकिनु केहीबेर अघिमात्र साहले स्वतन्त्र उम्मेदवारी दिएको हल्ला चल्यो। एमालेका नेताहरुले खोजनीति गर्दा उनले आफूले लगेको टिकट सार्वजनिक नगरी आँफैसँग राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएछन्।’

उनले अगाडि भने ‘प्रभु साहले एमालेलाई धोका दिए, टिकट आफैसँग राखेर त्यसै छोडेर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएछन्।’