रुपन्देही-१ मा नेकपा एमाले परित्याग गरेका पूर्व उपमहासचिव घनश्याम भूसाल र वर्तमान सचिव छविलाल विश्वकर्मा चुनावी मैदानमा उत्रिएका छन् । शनिबार एमाले परित्याग गरेको घोषणा गरेका माक्सवादी चिन्तक भूसालले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै नेकपा एमाले सचिव छविलाल बिश्वकर्माले राप्रपा र जसपासँगको गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराउने धेरै भएपनि यस क्षेत्रमा भूसाल र बिश्वकर्माबीचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

केही समय विद्रोह गरेर एमाले भित्रको आन्तरिक लोकतन्त्र सुधार गर्ने भन्दै १० बुँदे सहमती गरेर फर्केका भूसालले नेतृत्वले पूर्णरुपमा निषेध गरिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् । उमेदवारी भूसालले रुपन्देही- १ आफ्नो गृहक्षेत्र भएको र यस क्षेत्रमा आफूले पार्टी संगठन बिस्तारको क्रममा धेरै काम गरेका कारण जित सुनिश्चित रहेको दाबी गरे ।

यस्तै नेकपा एमाले सचिव छविलाल बिश्वकर्माले आफूले २०७४ को निर्वाचनमा जितेपछि धेरै काम गरिसकेको र कतिपय काम गर्न बाँकी रहेकोले आफ्नो उम्मेदवारी रहेको बताए । बिश्वकर्माले पार्टी कार्यकर्ता, शुभेच्छुक र आफ्ना कामका कारण आफ्नो जीत पक्कापक्की रहेको दाबी गरे ।

रुपन्देही-१ मा गठबन्धनबाट माओवादी केन्द्रको भाग परेको थियो । भूसाल उम्मेदवार हुने भएपछि माओवादीले उम्मेदवार उठाएन । प्रदेशसभामा (क) मा कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै नेकपा एमाले–राप्रपा–जसपा गठबन्धन बाट प्रदेशसभा (क) मा राप्रपाबाट आशिष चौधरी र (ख) मा नेकपा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कुल २१ जनाको प्रतिनिधिसभा, ७ जनाको प्रदेशसभा (क) र १३ जनाको प्रदेशसभा (ख) मा उम्मेदवारी परेको छ ।