विज्ञहरु भन्छन् : डेंगुले महामारीको डरलाग्दो अवस्था निम्त्याउन सक्छ

डेंगु महामारीकै रुपमा फैलिँदा सरकार संवेदनशील नभएको विज्ञहरुले औंल्याएका छन् । उनीहरुले डेंगु जोखिम बढ्दै गएको र यसले अवस्था डरलाग्दो निम्त्याउन सक्ने बताएका हुन् ।

अद्यावधिक विवरण अनुसार देशभर फैलिएको डेंगुका कारण हालसम्म ३६ जनाको ज्यान गइसकेको छ । हालसम्म देशभर २७ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगु संक्रमित संख्या दैनिक बढ्दै गएपनि सरकार रोकथाम र नियन्त्रणमा ठोस योजना बनाउन चुकेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन् ।

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले सरकारको प्राथमिकतामा डेंगु नपरेको बताए । उनले भने,’ जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं । ’

डा.मरासीनीले डेंगु रोकथामका लागि ‘लङ्ग टर्म प्रोग्राम’गर्नुपर्ने बताए । उनले भने, ‘बग्ने पानीमा लामखुट्टेले फूल पार्दैन । जमेको पानीमा फूल पार्छ । लामखुट्टे अत्यन्त चलाख प्राणी हो । ’ उनले यो अवस्थामा स्वास्थ्य मन्त्रालयको पहिलो एजेण्डा डेंगु नियन्त्रण हुनुपर्ने भएपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गरे ।

डा.मरासीनीले भने, ‘सरकार डेंगु रोकथाममा सक्रिय रुपमा लाग्नुपर्नेमा आफ्ना कर्मचारीलाई मात्रै पूरा बाहुला भएका कपडा लगाउन परिपत्र गर्छ । सरकारले डेंगुलाई गम्भिरतापूर्वक लिनुपर्छ । डेंगु रोकथामको उपाय भनेकै लामखुट्टे र नियन्त्रण र लार्भा नष्ट हो । ’

स्वास्थ्य सेवा विभाग इडीसीडीकै पूर्व निर्देशक डा.गरिवदास ठाकुर डेंगु नियन्त्रणमा सरकार संवेदनशिल हुनुपर्ने बताए । उनले डेंगु संक्रमितको संख्या बढेपनि मन्त्रालयले ठोस योजना बनाउन तल्लिन नभएको बताए ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले डेंगु नियन्त्रणका लागि घर, समुदाय, कार्यस्थलमा लार्भा खोजी र नष्ट गर्नुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र प्लाष्टिकजन्य तथा अन्य फोहोरहरुको उचित व्यवस्थापन हुन नसक्दा डेंगु लगायतका किटाणुजन्य रोगहरुको वृद्धि भएको छ । डेंगु नियन्त्रणका लागि कुनै पनि स्थानमा पानी जम्न दिनुहुँदैन ।’ 

स्वास्थ्य संस्थामा डेंगुका बिरामीको संख्या बढ्दै गएको बताए ।

नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो । डेंगु भाइरस ‘एडिस’जातको लामखुट्टेले सार्ने गर्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ ।

लामखुट्टेले टोकेको एक साताभित्र यो रोगका लक्षण देखापर्ने चिकित्सक बताउँछन्। डेंगुलाई डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी तीन भागमा बाँड्न सकिन्छ ।

डेंगु हेमोरेजिक ज्वरो अलि कडा हुन्छ । डेंगु सक सिन्ड्रोम भएको व्यक्तिलाई हेमोरेजिक ज्वरोका साथै बेहोस हुने लक्षण देखिन्छ । डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ । सफा र स्थिर पानीमा वासस्थान हुन्छ। अन्य लामखुट्टे फोहोरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टस सवारी साधनका पांग्रा, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ ।  

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्म लक्षणहरू देखा पर्ने गर्छ । उच्च ज्वरो आउनु, आँखाको गेडी खस्लाजस्तो हुनु, वाकवाकी लाग्ने तथा बान्ता हुनु, पखाला वा पातलो दिसा हुनु, खानामा अरुचि देखिनु यसका प्रमुख लक्षण हुन् ।