
निजी क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको प्रारम्भिक टिप्पणी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट सकारात्मक ढंगले आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले डोमेष्टिक उत्पादनलाई प्रवद्र्धन गर्ने, निर्यात प्रवर्द्धनमा जोड दिने गरी बजेट आउनु सकारात्मक भएको उल्लेख गर्दै कार्यान्वयनमा पाटोमा पनि विशेष ध्यान दिनुपर्ने बताए।
उनले बजेट प्रस्तुत भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ भने, ‘यो बजेटलाई सकारात्मक रुपमा लिन सकिन्छ। यसले डोमेष्टिक उत्पादनमा जोड दिएको छ। निर्यात प्रवद्र्धन गर्ने कुरा गरेको छ । यो सकारात्मक पक्ष हो । तर यसको कार्यान्वयनमा पनि आशंका गर्न सकिन्छ ।’
त्यसैगरी नेपाल चेम्वर अफ कमर्शमा अध्यक्ष मल्लले सरकारले ल्याएको बजेट असाध्यै सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन पनि सवल ढंगले हुनुपर्ने बताए।
उनले बजेटको आकार ठूलो हुने र पछि घटाउनुपर्ने अवस्था आउन नदिने गरी कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
अध्यक्ष मल्लले भने, ‘सरकारले ल्याएको बजेट असाध्यै सकारात्मक छ । तर यसको कार्यान्वयनको पाटो भने सवल हुनुप¥यो । बजेटको आकार ठूलो बनाउने तर पछि कार्यान्वयन गर्न नसक्दा घटाउनुपर्ने अवस्थाको भने अन्त्य हुनुप¥यो । हामीले दिएको सुझाव सरकारले ल्याएको बजेटमा समेटिएको छ ।’
अध्यक्ष मल्लले वैदेशिक ऋण लिएर बजेटको आकार बढाउने काम गर्न नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।




