नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र रुक्मांगत कटवाललाई प्रधानसेनापतिबाट हटाएर ठूलो गल्ती गरेको बताएका छन् । साथीहरुको लहलहैमा लागेर आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोकेको बताउँदै उनले भने, ‘उहाँलाई नरोकेको भए शान्ति प्रक्रिया अझ राम्ररी टुंगिने थियो ।’

 त्यस्तै तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । साथीहरुको लहलहमा लागे । ‘त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । मैले पनि साथीहरुको लहलहैमा लागेर थुप्रै गल्ती गरेँ, बिहीबार कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो पनि गल्ती थियो ।’

एमसीसीका बेला पनि आफूलाई उक्साएर केहीले ठोकठोक भन्न थालेको दाहालले बताए । तर, पहिलाजस्तो गल्ती एमसीसीका बेला नदोहोर्‍याएको उनको भनाइ थियो । ‘ठोके भने त सबथोक जाने थियो । गिरिजा र रुक्मांगतका बेलाको सम्झे । अनि मैले देशलाई दुर्घटनामा जान दिन्न भनेर कठोर भएँ,’ उनले भने ‘अमेरिकाले पनि व्याख्यात्मक टिप्पणी स्वकीकार गरिसक्यो । अहिले देश शान्त छ ।

’अध्यक्ष दाहालले सुदूरपश्चिमको राजनीतिक मात्र नभई आर्थिक र सामाजिक विकासमा पनि आफ्नो जोड रहेको बताए । ‘यहाँको विश्व विद्यालयको कुरा होस् वा सुख्खा बन्दरगाहको कुरा होस् । जलविद्युतका आयोजनाहरु अघि बढाउने कुरा होस् । हाम्रै पालामा सबैभन्दा बढी काम भएको छ’ उनले भने,‘देश शान्ति प्रक्रियामा आइसकेपछि म सबैभन्दा बढी यहि सुदूरपश्चिम प्रदेशमा बढी भ्रमण गरेको छु । यहाँको समग्र विकास नभएसम्म म शान्त भएर बस्दैन । मलाई सबैभन्दा बढी विकासको चिन्ता यतैको रहेको छ ।’​