
केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैलीमा सुधार नहुने निश्चित भएपछि नेकपा (एमाले) भित्र स्थानीय तह निर्वाचन–२०७९ लाई कसरी सामना गर्ने भन्ने अन्योलता बढेको छ ।
ओलीले आफुनिकट कतिपय व्यक्तिलाई चुनावअगावै मेयर र उपमेयरको बचन दिइसकेको र टिकट वितरणका क्रममा तिनै व्यक्तिलाई अगाडि सार्ने लगभग पक्कापक्की भएपछि एमालेभित्र उत्पन्न हुने असन्तुष्टिका बीचमा निर्वाचन सामना गर्न जटिल हुने केही नेताहरूले बताएका छन् । त्यसैपनि पाँच दलीय गठबन्धनले एमालेलाई असर पार्ने अवस्था छ । त्यसमाथि पार्टीका पनि ओली गुटका पुरानै कार्यकर्ताहरू असन्तुष्ट हुने स्थितिले एमालेका निम्ति आउँदो निर्वाचन जटिल बन्न लागेको हो । २०७४ सालमा एमाले एक्लै लड्दा पनि ४० प्रतिशत जितेको दम्भका भरमा अहिले एमालेलाई निर्वाचन जित्न सजिलो छैन । एमालेविरुद्धको गठबन्धनको सानो धक्काले पनि यस पटकको स्थानीय तहको निर्वाचनमा एमाले ढल्ने पक्का छ ।
गठबन्ध्नका कारण २०७४ सालमा कांग्रेसका उम्मेदवारलाई झिनो मतले जितेको एमालेलाई पाँच दलीय गठबन्धन फलामको च्युरा बन्ने निश्चित छ । १० बुँदे सहमतिका आधारमा एमालेमै रहेका तत्कालीन माधव नेपालपक्षीय नेता–कार्यकर्तालाई कुनै हालतमा पनि उम्मेदवार नबनाउने ओली रणनीतिका कारण कतिपय कार्यकर्ताहरू मनोनयन दर्ताअघि नै एकीकृत समाजवादीमा जाने भएका छन् । तीमध्येका केही नेताले टिकट नपाए बागी उम्मेदवार हुने घोषणा गरेका छन् । ओलीले भने स्थानीय तहमा अहिले वहाल रहेका पदाधिकारीलाई सामान्यतया उही पदमा उम्मेदवार बनाउने मापदण्ड यसअघि नै सुनाइसकेका छन् । स्थानीय तहको जिम्मेवारी निर्वाहका क्रममा आलोचित भएका र जनाधार गुमाएका कतिपय जनप्रतिनिधि नै ओलीको छनोटमा पर्ने भएका छन् ।
यस्तो कार्यशैलीका कारण विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरादेखि काठमाडौं महानगरसम्मै एमालेलाई अप्ठेरो पर्ने भएको छ । ओलीले स्थानीय निर्वाचनको टिकट वितरणमा गर्ने ज्यादतीको छनक सिफारिसका क्रममा आइसकेको छ । शुरुमा आफूसँगको भेटमा विराटनगरको मेयर बनाउन माग गर्ने लालबाबु पण्डितको नाम सिफारिस सूचीको पाँच नम्बरभित्रै नपार्न ओलीले स्थानीय नेतृत्वलाई फोनमा भनेका थिए । फलस्वरुप पण्डितसहित विनोद ढकाल र जीवन घिमिरेको नाम पनि सिफारिस भएन । त्यहाँबाट सागर थापा, रामलाल साह, बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ । विराटनगरको मेयरमा आकांक्षा गरेका पण्डित, ढकाल र घिमिरेमध्ये ढकाललाई प्रतिनिधिसभाको तयारी गर्न भनिएको छ ।
घिमिरेको असन्तुष्टिलाई रोक्नका लागि उनकी पत्नी विमला दाहाललाई उपमेयरमा सिफारिस गरिएको छ । अर्को पार्टीको कार्यकर्तालाई रातारात पार्टी प्रवेश गराई हातहाती मेयरको टिकट दिइएको कारण वीरगञ्ज एमालेमा ठूलै पहिरो जाने भएको छ । महानगरका बहालवाला मेयर विजय सरावगीलाई एमाले प्रवेश गराइएकै दिन मेयरको टिकट पनि निश्चत गरिएका कारण स्थानीय एमाले नेतृत्व केन्द्रीय नेतृत्वसँग रुष्ट भएको हो । सरावगी एमालेमा प्रवेश गर्नुअघि लोसपाबाट एमालेमा प्रवेश गर्न खोजेका राजेशमान सिंह अहिले जसपातिर लागेका छन् । उनीसँग मुकाविला गर्न सरावगीलाई मुस्किल पर्ने कुरा एकातिर छ भने अर्कातिर पहिला मेयरको टिकट नपाएर एमाले छाडी फेरि एमालेमै फर्किएका महानगर कमिटीका सचिव सुन्दर कुर्मी, प्रदेश सदस्य नवराज शर्माहरू सरावगीलाई कुनै हालतमा जिताउन नहुने भन्दै प्रचारमा लागिसकेका छन् ।
भरतपुर महानगरमा विजय सुवेदी र पोखरा महानगरमा राजीव पहारी ओलीको छनोटमा परे पनि स्थानीय पार्टी कमिटीहरू उक्त निर्णयबाट सन्तुष्ट छैनन् । ओलीका कारण सबभन्दा अप्ठेरो काठमाडौं महानगरमा पर्ने भएको छ । मेयरका आकांक्षी केशव स्थापितलाई उम्मेदवार बनाउने ओलीको चाहना भए पनि राष्ट्रपतिको हस्तक्षेपका कारण फेरि विद्यासुन्दर शाक्यले टिकट पाउने भएका छन् । ओलीलाई उनका निकटस्थले भनेअनुसार, केशव स्थापित चुनाव जितेपछि आज्ञाकारी हुन सक्दैनन् । यसकारण उनलाई टिकट दिने सम्भावना छैन । विद्यासुन्दरले भने चुनाव जित्ने आँकडा पेश गरिसकेका छन् । उनको दावीअनुसार, उपत्यकाभर नेपालभाषा पढाउनका लागि उनले स्थानीय नेवार समुदायका व्यक्तिलाई शिक्षकको जागिर लगाइदिएका छन् । प्रत्येक स्थानीय गुठीलाई बजेट हालेको अर्को दावी छ ।
उनले यो चुनावका लागि टिकटलाई मध्यनजर गर्दै मदन भण्डारी फाउण्डेशनलाई १० करोड, ओलीपत्नी राधिका शाक्य अध्यक्ष रहेको मानवसेवा आश्रमलाई पाँच करोड बजेट हालिदिएका छन् । तर, विद्यासुन्दरको खराब छविका कारण बढी मतदाता रहेका वडा नम्बर १ देखि १०, ३१ र ३२ मा जनलहर निराशजनक छ । ललितपुरको मेयरमा फेरि पनि हरिकृष्ण व्यञ्जनकारलाई नै टिकट दिइने भएपछि ओलीकै सालो ज्ञानेन्द्र शाक्यदेखि भर्खरै विप्लवबाट आएर महानगर कमिटी इञ्चार्ज भएकी मञ्जरी शाक्यसम्म असन्तुष्ट छन् । मञ्जरीलाई उपमेयर उठ्न भनिएको छ । तर, उनले अपमान सहेर पार्टीमा बस्ने कि नबस्ने भन्नेबारे छिट्टै निर्णय लिने भएकी छिन् । ओलीले महानगरसहित उपमहानगरहरूमा पनि चुनावअघि नै कतिपय व्यक्तिलाई टिकट दिइसकेका छन् ।
धरानमा हालकी उपमेयर मञ्जु भण्डारी सुवेदी र इटहरीमा लक्ष्मी गौतमलाई टिकट दिन ओलीले निर्देशन दिइसकेपछि असन्तुष्टहरूको नामसमेत समेटेर केन्द्रमा सिफारिस पठाइएको छ । धरानबाट पूर्वमेयर मनोजकुमार मेयाङ्बोसहित मोतीराज सुनुवार, विजयकुमार राई, तीर्थ मास्के, मीनकुमार सुब्बा, नारायणप्रसाद सुवेदी, राजमणि निरौला, दोर्पध्वज राई, प्रकाश राई र किशोरकुमार कार्की मेयरमा सिफारिस भए पनि टिकट मञ्जुले पाउने भएकी छिन् । उनी उम्मेदवार हुँदा एमालेले बागी उम्मेदवार सामना गर्नुपर्ने चेतावनी स्थानीय नेताहरूले दिइसकेका छन् । सिफारिस भएकामध्ये बस्नेत, सुवेदी, निरौला र राई १० बुँदे पक्षधर हुन् । त्यस्तै इटहरी उपमहानगरमा अहिलेका मेयर द्वारिकलाल चौधरीसमेत सिफारिसमा परेका छन् । तर, टिकट भने लक्ष्मीले पाउँदा आन्तरिक विद्रोह रोक्न नसकिने स्थानीय नेताहरू बताउँछन् ।
मेयरका लागि यामकुमार सुब्बा, रामप्रसाद चौँलागाई, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे पनि सिफारिसमा परेका छन् । हेटौंडा उपहानगरका लागि एकलाल श्रेष्ठलाई बालकोटबाट ‘अगाडि बढ्नुस्’ भनिसकेपछि ९ जनाको नाम सिफारिस गरिएको छ । हालका मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला सचिवालय सदस्य मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधान सिफारिस भएका हुन् । यसअघि पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी हुँदाहुँदै एकलालको नाम टाँसेर जबरजस्ती अध्यक्ष बनाइएको थियो । मेयरको टिकट वितरणमा पनि त्यस्तै ज्यादती हुने भएपछि एमाले समस्यामा पर्ने भएको हो ।
गाईलाई सूर्य दिने तयारी
अघिल्ला निर्वाचनहरूमा चुनाव चिन्ह गाईबाट भाग लिँदै आएको कमल थापा नेतृत्वको राप्रपा नेपाललाई यसपटक ओलीले आफ्नै चुनाव चिन्ह दिएर चुनावमा लाने भएका छन् । बलियो जनाधार नभएको दलसँग निर्वाचनमा तालमेल गरेर बलियो गठबन्धनविरुद्ध लड्न मुस्किल हुने सुझाव एमालेका नेताहरूले नेतृत्वलाई दिएका छन् । तर, कसैको कुराको सुनुवाई भएको छैन । एक एमाले नेताले भने– ‘आफ्ना मान्छेलाई पार्टीमा टिकाउन नसक्नेले अर्कालाई फकाएर कसरी चुनाव जित्नु ?’dristi news




