आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका थिए भने प्रचण्ड र नेपालले यथास्थितिमा टेबल नगर्न प्रधानमन्त्रीलाई भनेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले भने, ‘परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ ।’
सरकारले परिमार्जनविनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पार्दै प्रचण्डले रातोपाटीसँग भने, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिकरुपले मिल्दैन ।’