
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता विना संशोधन संसदमा पेस गर्ने पक्षमा देखिएका छैनन् । गठबन्धनमा रहेका दुई शीर्ष नेता एमसीसीलाई विना संशोधन पास नगर्ने अडानमा रहेपछि पेचिलो बनेको छ । यस्तै माओवादी केन्द्रका नेताहरु पनि एमसीसी सम्झौता खारेज गर्नुपर्ने पक्षमा अभिव्यक्ति दिन थालेका छन् । माओवादी केन्द्रले भने एमसीसीका केही बुँदा संशोधन नगरी पास गर्न नहुने भनेर महाधिवेशनबाटै पारित गरेको थियो ।
माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भने,‘कुनै भ्रममा नपरौँ: प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन, आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन, कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’
यस्तै माओवादीका अर्का नेत देव गुरुङ, लीलामणि पोखरेल लगायतका नेताहरु पनि एमसीसीको विरुद्धमा रहेका छन् । तर युवा पुस्ताका नेताहरु पनि एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने पक्षमा अभिव्यक्ति दिन थालेका छन् । माओवादीका युवा नेता युवराज दुलालले एमसीसीमाथि व्यापक बहस हुनुपर्ने बताए । उनले एमसीसी पास गरेको भोलिपल्टदेखि नेपाल राष्ट्रले महंगो मूल्य चुकाउनु पर्ने बताए । उनले आफ्नो फेसबुकमा लेखेका छन्,‘प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेवल गर्ने पक्षमा हुनुहुन्छ । संसदमा एमसीसी फेल गर्न पुग्ने सांसदको संख्या छैन । किनकी कांग्रेस र एमाले दुवैका संस्थापन पक्ष एमसीसी पास गर्ने पक्षमा छन् । एमसीसी कसैलाई पास गरे पनि हुन्छ भन्ने लाग्ला, तर यो पास गरेको भोलिपल्ट देखि पास गर्नेले त पश्चाताप गरे पुग्ला तर नेपाल राष्ट्रले महंगो मूल्य चुकाउनु पर्नेछ । खवरदार !’
यस्तै, वाइसीएलका ईन्चार्ज रामप्रसाद सापकोट दीपशिखाले पनि एमसीसी पास गर्न नहुने बताएका छन् । उनले परिणाम जस्तोसुकै आए पनि एमसीसी पास गर्न नहुने बताएका हुन् । दीपशिखाले आफ्नो फेसबुकमा लेखेका छन्,‘एमाले र कांग्रेस लगायतका केही दल एमसीसीको पक्षमा छन् । अध्यक्ष प्रचण्डको असहमतिका कारण संसदमा टेबल हुन पाएको छैन । खैर एमसिसि पारित होला, नहोला ! नेकपा माओवादी केन्द्र एमसिसिको पक्षमा छैन । यहि अवस्थामा एमसिसि कुनैपनि हालतमा पारित गरिनुहुन्न । बरु असहमत हुँदा या पारित नगर्दा आउने जे सुकै परिणाम बेहोर्नुपर्छ ।’
माओवादी केन्द्रका अर्का युवा नेता रञ्जित तामाङ पनि एमसीसीको विरुद्धमा देखिएका छन् । अखिल क्रान्तिकारीका पूर्व अध्यक्षसमेत रहेका तामाङले फेसबुकमा एमसीसीको नाम नलिइ लेखेका छन्,‘ गठबन्धन टुटोस, देश टुट्नु हुँदैन । बरु सरकार जाओस्, स्वाभिमान बेचिनु हुँदैन । बल्छी खेल्ने ‘बा’हरु जति छन्, देश र जनताको भावनामा गिर खेल्न हुँदैन ।’ यस्तै क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले पनि एमसीसीको विरोध गरेकी छन् । उनले पनि आफ्नो फेसबुकमा लेखेकी छन्,‘ आर्थिक प्रलोभन देखाएर गरिएको कथित महाकाली सम्झौताले सम्झौता गर्नेहरुको अनुहारमा कालो पोतिएको र नया पुस्तालाई पटकपटक लज्जित बनाइरहेको जिवित तथ्यले गिज्याइरहेकै छ । फेरि डलरको प्रलोभनमा स्वाभिमान नबेच राष्ट्रघात नगर, एमसीसी फिर्ता गर्ने हिम्मत गर । राष्ट्रघात अमान्य छ।’




