सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावलीलाई स्वीकृती प्रदान गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो ।
बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । पुस २९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयमा ७ औं नम्बरमा सैनिक सेवा नियमावली (तेस्रो संसोधन) स्वीकृत गर्ने निर्णय भएको उल्लेख छ । पुसमै निर्णय गरेको भएपनि गोप्य राखिएका मन्त्रिपरिषद्का निर्णय सरकारका प्रवक्ताले आज मात्रै औपचारिक रुपमा सार्वजनिक गरेका हुन ।
मन्त्रिपरिषद्ले संसोधित सैनिक नियमावली पारित गरेसँगै अब सो निर्णय स्वीकृतीका लागि राष्ट्रपति कार्यालयमा जाने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती प्रदान गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएपछि १६ बर्षे पेन्सन सेवा नेपाली सेनामा कार्यान्वयनमा आउने छ ।
सैनिक सेवा नियमावलीको तेस्रो संशोधन २०७७ मा नेपाली सेनाका सिपाही र फलोअर्सले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने उल्लेख छ । नयाँ नियमावली अनुसार ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाका लागि यो संशोधन लागु हुने छ।
हाल नेपाली सेनाका सिपाहीको पेन्सन अवधि २० बर्ष छ । त्यसअघि १६ बर्ष रहेकोमा बीचमा बढाएर २० बर्ष बनाइएपछि लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए ।
सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।




