
विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार यही मङ्सिर ११ देखि १३ गतेसम्म नेपालमा हुँदैछ। सन् २०२२ मा ट्युनिसमा भएको सम्मेलनले काठमाडौँमा दोस्रो सैद्धान्तिक सेमिनार गर्ने निर्णय गरेको थियो।
सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिइन्।राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष पौडेलले छलफलमा विश्वमा बढ्दो साम्राज्यवादबाट महिलालाई परेको असर, समाजवाद क्रान्तिका लागि महिलाको एकरुपता तथा साम्राज्यवादविरुद्ध महिलाको एकमतलगायत विषयमा सैद्धान्तिक बहस हुने बताइन्।
पूर्वसांसद समेत रहेकी संयोजक पौडेलले विभिन्न ६ महिला सङ्गठनको सहकार्यमा सम्मेलन हुन लागेको बताइन्। यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले महिलाका समस्या, शोषण र उत्पीडनको मूल कारणका रूपमा साम्राज्यवादी व्यवस्थालाई औँल्याए।




