

नेपालको वाम आन्दोलनले लामो ऐतिहासिक यात्रा तय गरेको छ।समानता, न्याय र समाजवादी समाज निर्माणको उद्देश्यले प्रारम्भ भएको यो आन्दोलन निरन्तर संघर्ष, त्याग र पुनर्संरचनाको प्रक्रियाबाट गुज्रिँदै आजको अवस्थामा आइपुगेको हो।तर विगतका अनुभवहरूले के देखाएको छभने वाम आन्दोलनका उपलब्धिहरूभन्दा बढी यसको विखण्डन, प्रतिस्पर्धा र अविश्वासका कथाहरु छन्।
हिजो आज ने.क.पा (माओवादी केन्द्र ) र एकीकृत समाजवादी पार्टी विचमा पार्टी एकता सम्बन्धि सामाचार हरुले विभिन्न सकारात्मक र नकारात्मक प्रतिकृयाहरु पार्टी भित्र र बाहिर विभिन्न सामाजिक संजालमा भईरहेका छन्।यसो हुनु स्वाभाविक पनि हो। तर, पार्टी एकता केवल संगठनात्मक मिलन होइन; यो सिद्धान्त, दृष्टिकोण र मनोविज्ञानको गहिरो प्रक्रिया हो। नेपालको वाम राजनीतिक इतिहासमा अनेक पटक एकता र विभाजनहरु भएका छन्। २०७५ सालमा तत्कालीन नेकपा (एमाले) र ने. क. पा. ( माओवादी केन्द्र ) बीच भएको एकता त्यसको सबैभन्दा ठुलो उदाहरण हो। त्यो एकताले “नेपाल कम्युनिष्ट पार्टी (नेकपा)” को नाममा दुई तिहाइ बहुमत प्राप्त सरकार निर्माण गरेको थियो। तर, त्यो ऐतिहासिक अवसर लामो समय टिक्न सकेन ।सत्ता समीकरण, नेतृत्व प्रतिस्पर्धा र वैचारिक दिशाको अस्पष्टता र मुलतः के पी ओलीको संगठनमा सर्वसत्तावादी सोच र संविधान मिचेर दुर्ड पटक संसद विगठन को पश्चगामी कदम का कारण तीन वर्षमै पार्टी पुनः विभाजित भयो। यसले स्पष्ट सन्देश दिएको छ- विचार बिना एकता दीर्घकालीन हुन सक्दैन।केवल नाम, झण्डा वा पदको बाँडफाँडका आधारमा बनेको सहमति अस्थायी हुन्छ।जब ठूला र साना दल, पुराना र नयाँ पुस्ता एउटै संरचनामा आउँछन्, त्यहाँ तीन तहका टकराव स्वाभाविक रूपमा देखा पर्छन् ।
संख्यात्मक, मनोवैज्ञानिक र वैचारिक: –
संख्यात्मक रूपमा ठूला दलहरूले जनआधारको बहानामा नेतृत्व कब्जा गर्न खोज्छन्,सानो दलले सिद्धान्तको शुद्धता र आदर्शको हैसियत देखाउँछ।मनोवैज्ञानिक रूपमा सिनीयर नेताहरू अनुभवको नाममा नेतृत्व सम्हाल्न चाहन्छन्,युवा पुस्ता नयाँ सोच र कार्यपद्धतिमा जोड दिन चाहन्छ।
त्यसैगरी वैचारिक रूपमा: –
विचार र वादको कुरा आउँछ , कोही नयाँ जनवाद को कुरा गर्छ कोही बहुदलीच जनवादको , समाजवादको परिभाषा फरक फरक गर्छ,कोही राष्ट्रिय उत्पादन र आत्मनिर्भरतालाई केन्द्रमा राख्छ, कोही खुला अर्थ तन्त्रलाई प्राथमिक्तामा । यस अवस्थाको दीर्घकालीन समाधानका लागि वाम शक्तिहरूले केही ठोस अभ्यासहरू गर्न आवश्यक छ।
पहिलो-
एकताको स्पष्ट सिद्धान्त र कार्यदिशा तयार गर्नुपर्छ।एकताको उद्देश्य केवल निर्वाचनमा कति सिट जितिन्छ भन्ने तयारी होइन; राष्ट्र र राष्ट्रियता , संघीयता र जनजीविकाको रूपान्तरणका साझा एजेन्डा तय हुनुपर्छ।
दोस्रो-
सत्ता साझेदारी भन्दा जिम्मेवारी वितरणमा जोड दिनुपर्छ।विभिन्न तहका नेताहरूबीच स्पस्ट कार्यविभाजन हुनु जरुरी छ। जसले संगठनलाई स्थायित्व दिन्छ र आन्तरिक असन्तुष्टि घटाउँछ।पार्टी एकता पछि पनि आ-आफना पूर्व गुट र समुह हेरेर कार्य विभाजन गर्ने , कसैले ठुलो शक्तीको, कसैले यति जेल बसेको , कसैले पुरानो इतिहासको अंश समातेर बखेडा निकाल्ने अवस्था हुनुहुन्न ।
तेस्रो-
युवा पुस्तालाई निर्णायक भूमिकाको जिम्मेदारीमा बढोत्तरी गर्नुपर्छ ।अबको वाम आन्दोलनको भविष्य केवल अतीतको सम्झनामा होइन,भविष्यप्रतिको दृष्टि र व्यवहारमा निर्भर हुन्छ उत्पादनमुखी अर्थतन्त्र, सहकारी संस्कार र वैज्ञानिक सोच एवं साम्यवादी आदर्श द्वारा प्रेरित दैनिक जीवन व्यवहार र युद्धस्तरमा योजना कार्यान्वयन र राष्ट्र को उत्नतीकालागि नयाँ पुस्ताको सहभागिता अपरिहार्य छ। आज नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रियता, संघीयता र धर्मनिरपेक्षता माथि सूक्ष्म तर गम्भीर चुनौतीहरू देखिँदैछन्।अन्तर्राष्ट्रिय प्रभाव, आर्थिक निर्भरता र आन्तरिक विभाजनका कारण राष्ट्रिय स्वाधीनता कमजोर हुँदै जाने संकेतहरू स्पष्ट देखिएकाछन्।त्यसैले, वाम शक्तिहरूबीचको एकता अब केवल दलगत अस्तित्वको विषय होइन , यो राष्ट्रिय अस्तित्व र स्थायित्वको आवश्यकता हो।तर, त्यो एकता यथार्थमा सफल हुनका लागि नेताहरूको पुनरावृत्ति मात्र होइन,साझा दृष्टिकोण, व्यवहार र नीतिमा नवीनता हुन आवश्यक छ।यदि एकता साँचो अर्थमा उत्पादनमुखी, श्रम केन्द्रित र जनमुखी कार्यक्रमसहित अघि बढ्न सक्यो भने त्यो नेपालमा वाम पुनर्जागरणको नयाँ अध्याय बन्न सक्छ।आमरूपमा विभिन्न गुट उपगुट र समुहमा विभाजित वाम समर्थक जन समुदाय एकताको पक्षमा रहेका छन् यो भावनालाई केन्द्रीत गर्दै बृहद बाम एकता को आवश्यकता एकातिर छ भने अर्को तिर राष्ट्रिय स्वाधिनताका लागि सबै राष्ट्रवादी शक्तीहरुको साझा मोर्चा आजको आवश्यक्ता बनेको छ। पार्टी एकताको पहल तेसले गर्ने हो जस्लाई राष्ट्रिय स्वाधिनता र संविधान अन्तरगत जन युद्ध र जन आन्दोलन का उपलब्धिहरू बचाउने जिम्मेदारी छ।यो ऐतिहासिक जिम्मेवारी बाट पंछीएर बिभिन्न वहानामा भाग्नेहरु इतिहास को कुनै मोडमा जनता सामु नाङ्गीनेछन् । तसर्थ विभिन्न चिरामा विभाजित वाम नेताहरूले , अतीतका गल्तीहरूबाट पाठ सिक्दै राष्ट्रिय हित, संघीय मूल्य र समाजवादी दृष्टिकोणका साझा सूत्रमा एकताबद्ध हुन सके त्यो केवल वाम आन्दोलनको सफल पुनरुत्थान होइन, राष्ट्रिय स्थायित्व र विकासको आधार पनि बन्न सक्छ।“वाम एकता तब मात्र अर्थपूर्ण हुन्छ,जब त्यो पद र व्यक्ति होइन,विचार र कार्यदिशाको साझा दृष्टिमा आधारित हुन्छ।”
( २०८२ कार्तिक १४ )




